जनता टाइम्स

२० आश्विन २०७६, सोमबार ०८:३९

पक्राउ परेपछि महरालाई उच्चरक्तचाप, अक्सिजन दिएरै सामान्य हिरासतमा राखियो


काठमाडौं, असोज २०

बलात्कार काण्डमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको हिरासतको पहिलो रात तनावमा वितेको छ । आइतवार साँझ पक्राउ परेका महरालाई उच्च रक्तचापको समस्या देखिएको छ ।

महराको आइतबार राति नै वीर अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको छ । प्रहरीले महराको नियमित तथा फोरेन्सिक दुवै तरिकाबाट स्वास्थ्य जाँच गराएको हो । सिंहदरबार वृत्तको हिरासत कक्षमा रहेका उनलाई उच्च रक्तचापसँगै स्वासप्रस्वासको समस्या दखिएको छ । महरालाई सामान्य हिरासत कक्षमा नै अक्सिजन दिएर राखिएको प्रहरी स्रोतले बताएको छ ।

‘पक्राउ पछि उहाँको स्वास्थ्य परिक्षण गरिएको हो, स्वास्थ्य परिक्षण गर्दा उच्च रक्तचाप र अक्सीजनको कमी देखिएको छ’, काठमाडौं प्रहरी परिसर टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीले भन्नुभयो, ‘उनले पहिले देखि नै उच्च रक्तचाप सम्बन्धि औषधी पनि खाने गरिरहनु भएको रैछ।’

दसैं बिदाका कारण सरकारी वकिलको कार्यालय बन्द रहेकोले अहिलेलाई उनीसँग नेपाल प्रहरीले मात्रै बयान लिने छ । स्वास्थ्य खराब भएपछि प्रहरीले अहिलेसम्म बयान भने लिएको छैन । महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई सभामुख निवास बालुवाटारबाट नियन्त्रणमा लिएको हो ।

बानेश्वर वृत्तका डीएसपी दुर्गा रेग्मी नेतृत्वको टोली कालो रंगको स्कर्पीयो गाडीमा महरालाई नियन्त्रणमा लिनका लागि सभामुख निवास प्रवेश गरेको थियो । यौन दुर्व्यवहारको आरोप लागेपछि गत सोमबार राजीनामा दिएका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले आइतबार पक्राउपूर्जि जारी गरेको थियो ।