रौतहट, २६ असार । रौतहटको दक्षिणीभेग भारतीय सीमासंग जोडिएको ईशनाथ नगरपालिकामा छुरा प्रहार गरी एकजना युवकको हत्या भएको छ । ईशनाथ ९ लवातना गाउँका कईममिया मन्सुरीको छोरा अन्दाजी बर्ष १८ को सहबाज मिया आलमको पेटमा धारीलो हतियार छुरा प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताउनुभयो । ईशनाथ २ औरेया स्थित गेट अगाडी आंपको बगैंचामा युवक घाईते अवस्थामा देखेर गएराती साढे ९ बजे स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
लगत्तै जिल्ला प्रहरी कार्यालय रौतहटबाट इन्स्पेक्टर उमा शंकर गुप्ताको कमाण्डमा १० जना र सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट औरेयाबाट इन्स्पेक्टर दिल बहादुर महराको कमाण्डमा ७ जनाको संयुक्त टोलि घटनास्थलमा पुग्दा युवकको मृत्यु भईसकेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताउनुभयो । युवकको हत्याको प्रकृति हेर्दा जघन्य किसिमले गरिएको देखिएपछि राति नै जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरे, जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीसहितको टोली घटनास्थलमा पुगेर थप अनुसन्धान सुरु गरेको थियो ।
प्रवक्ता गिरीका अनुसार मृतक आलमलाई गाउँकै केही साथीहरूले मंगलवार साँझ ७ बजे केही काम छ भनेर घरबाट बोलाएर लागेका थिए । त्यसपछि उनको पेटमा छुरा प्रहार गरी हत्या गरिएको थियो । हत्यामा संलग्न रहेको आशंकामा चारजनालाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रवक्ता गिरीले जानकारी दिनुभयो । पक्राउ परेका चारैजना मृतकका साथि हुन र उनीहरू लागुऔषध प्रयोगकर्ता जस्तो देखिएकाले मृतक पनि प्रयोगकर्ता हुनसक्ने अनुमान गरिएको छ । हत्याको कारण हालसम्म खुल्न नसकेको तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
भारतीय सीमासंग जोडिएको रौतहटका गाउँहरुमा लागुऔषध प्रयोगकर्ताको संख्या दिनानुदिन बढ्दै गएको पाइएको छ । गरीब तथा बिपन्न परिवारका आमा बाबु खेतबारीमा काम गर्न गएको समयमा छोराहरू भारतीय बजार पुगेर त्यहाँबाट सस्तो नशालु ट्याबलेटदेखि गाँजासमेत ल्याएर प्रयोग गर्ने गरेको स्थानीयहरूले बताएका छन् । लागुऔषध प्रयोगकै कारण पछिल्लो समयमा जिल्लामा आपराधिक क्रियाकलापमा वृद्धि भएको जानकारहरुले बताएका छन ।
प्रतिक्रिया दिनुहोस्