जनता टाइम्स

२८ असार २०८१, शुक्रबार ११:१७

पहिरोमा बेपता गणपती डिलक्स बसको टिकट काटेका १४ यात्रुको नाम सार्वजनिक


रौतहट, २८ असार । काठमाडौंबाट गौर तर्फ आउने क्रममा आज बिहान पहिरोमा परेर बेपता भएको गणपती डिलक्स बसमा यात्रा गरिरहेका ३१ जना यात्रु मध्ये १४ जना यात्रुको नाम लिस्ट प्राप्त भएको छ । काठमाडौंबाट गौर आईरहेको बागमती प्रदेश ०३–० ०१ख २४९५ नम्बरको बसमा सवार ३१ जना मध्ये रौतहट देवाही गोनाही नगरपालिका–१ करुनियाका अधिकारी दासको छोरा नन्दन दाससहित २ जना र वृन्दावन नगरपालिका सिसवा धमौराका एकजना गरी तीनजना केविन बाट हामफालेर ज्यान जोगाएका थिए । हामफालेर ज्यान जोगाउन सफल भएका मध्ये एकजना नन्दन दास रहेको देवाही गोनाहीका पूर्व मेयर धर्मेन्द्र पटेलले बताउनुभयो ।

बसमा यात्राको क्रममा ३१ जना यात्रु मध्ये १४ जनाको नामले टिकट काटिएको देखिएको छ । काठमाडौंबाट गौर तर्फ आउने यात्रुहरुमा शैलेन्द्र, राजकिशोर, ओमजी, वकील खान, सिकेन्द्र, प्रिन्स जैसवाल, राज पटेल, नन्दन दास, शम्भु, नवीन, हरिश्चन्द्र, अमिता, नन्दुजी को नामले टिकट काटिएको छ । आज बिहान  साढे तीन बजेतिर वीरगञ्जबाट काठमाडौंतर्फ आइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–० ०१ख २४९५ नम्बरको गणपति डिलक्स लेखेको बस भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा पहिरोमा परेका थिए ।