जनता टाइम्स

१ श्रावण २०८१, मंगलवार २२:०७

सिमलताल पहिरोमा परी त्रिशुलीमा बेपत्तामध्ये २१ शव भेटिए


नवलपुर साउन १ । चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रीमध्ये अहिलेसम्म २१ शव फेला परेका छ । सशस्त्र प्रहरी बल नेपालले जनाएअनुसार आज थप चार जनाको शव फेला परेसँगै २१ शव भेटिएको हो ।

सशस्त्र प्रहरी बल नेपालकानुसार तीमध्ये नौ जनाको सनाखत भइसकेको र बाँकी आठ जानाको सनाखत हुन बाँकी छ । चितवनको भरतपुर–२९ सिमलतालमा असार २८ गते शुक्रबार बिहान आएको पहिराले बगाएर बेपत्ता दुई बसका यात्रुमध्ये नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा आज बेलुका थप चारवटा शव फेला परेका छन् ।

आज हालसम्म गैँडाकोट–७ गैरीमा करिब ३५ वर्षीय पुरुष, मध्यविन्दु–१२ तमासपुरमा करिब ३५ वर्षीया महिला, गैँडाकोट–१० खरखरेमा करिब ४० वर्षीय पुरुष र विनयी त्रिवेणी–७ गण्डक ब्यारेजको पुलमा करिब ४० वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जिल्लाको नारायणी नदी किनारमा भेटिएका चारवटै शवको अनुसन्धान भइरहेको बताउनुभयो ।

पछिल्लो दिनमा जिल्लामा भेटिएका अन्य शव सिमलताल पहिरामा बेपत्ता भएकाहरूका रहेकाले यी शव पनि त्यही घटनामा बेपत्ता भएकाहरूका हुनसक्ने भन्दै आफन्तलाई बोलाएर शव पहिचान गराउने काम भइरहेको पौडेलले बताउनुभयो ।

सिमलताल पहिराले बगाएर बेपत्ता दुई बसका यात्रुको शव नवलपुरमा धमाधम भेटिन थालेपछि जिल्लास्थित नारायणी नदी किनारका सम्भावित क्षेत्रमा खोजीकार्य तीव्र पारिएको छ । हालसम्म यहाँ १४ शव भेटिएका छन् । तीमध्ये छ शवको मात्रै पहिचान खुलेको छ । अन्य आठ शवको पहिचान खुल्न बाँकी छ ।

शव खोजीका लागि नवलपुरतर्फ कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटदेखि त्रिवेणीसम्म नै सुरक्षाकर्मी परिचालन गरिएको छ । सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले आजसम्म २१ जनाको शव फेला परेका र बाँकीको खोजीकार्य जारी रहेको जानकारी दिनुभयो ।

गत शुक्रबार बिहान भरतपुर महानगरपालिका–२९ नारायणगढ मुगग्लिङ सडकखण्डको सिमलताल भन्ने स्थानमा वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नं को एञ्जल डिलक्स बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नं को गणपति डिलक्स बस पहिरोले बगाएर त्रिशूली नदीमा खसेको थियो ।

एञ्जल डिलक्समा ३८ जना र गणपति डिलक्समा २७ जना यात्रु रहेका थिए । बसमा सवार रौतहटका नन्दन दास, जुगेश्वर यादव र सरोजकुमार गुप्ता भने हाम फालेर ज्यान जोगाउन सफल हुनुभएको छ ।