जनता टाइम्स

२ श्रावण २०८१, बुधबार ०८:५३

चार लाख १२ हजार घूस रकमसहित समतीए दुई कर्मचारी


दार्चुला, साउन २ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार लाख १२ हजार घुस रकमसहित दार्चुलाको शैल्यशिखर नगरपालिकाका दुई जना कर्मचारीलाई पक्राउ गरेको छ ।

नगरपालिकाका कृषि प्राविधिक अधिकृत मोहनसिंह धामी र कृषि प्राविधिक अशोकसिंह धामीलाई अख्तियारको टोलीले असार ३१ गते घुस रकमसहित धनगढीबाट पक्राउ गरेको जनाएको छ ।

उनीहरुले कृषि समूहको बिल भुक्तानी गर्दा कमिसनबापत सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा आयोगको कार्यालय, कञ्चनपुरबाट खटिएको टोलीले कैलालीको धनगढीस्थित बोराडारीबाट पक्राउ गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । उनीहरुको साथबाट चार लाख १२ हजार नगद र ५० लाख ६० हजारको चेकसहित पक्राउ गरिएको हो ।

अख्तियारका अनुसार उनीहरुको साथबाट घुस लिईसकेको नगद ४ लाख १२ हजार र ४५ लाख ६० हजार बराबरका ५ थान चेक तथा अशोक सिह धामीको नामबाट काटिएको दुई लाख ५० हजारका दुई थान चेक पनि बरामद गरिएको अख्तियारले जनाएको छ ।