जनता टाइम्स

२ श्रावण २०८१, बुधबार १०:३८

वडाको डिजिटल निगरानीमा जोडिए मन्थली–२ का सबै सेवा प्रदायक कार्यालय


रामेछाप,साउन २ । मन्थली नगरपालिका–२ का सबै सेवा प्रदायक कार्यालय वडा कार्यालयको डिजिटल निगरानीमा जोडिएका छन ।

सो वडा भित्रका सरकारी कार्यालय तथा विद्यालयका गतिविधि अब वडा कार्यालयको मनिटर रुमबाट निगरानी गर्न सकिने भएको छ । ती सबै कार्यालयमा सीसी क्यामरा जडान गरी एउटै नेटवर्कभित्र ल्याइएको वडाध्यक्ष सुरेन्द्र कार्कीले जानकारी दिनुभयो ।

वडा कार्यालयले सो वडाका सबै कार्यालयमा क्यामरा जडान गरेको कार्कीले बताउनुभयो । ३ लाख रुपैँयामा कार्यालयसहित वडा भित्रको निलकण्ठेश्वर मावि कठजोर सहित चारवटा विद्यालय, कठजोर स्वास्थ्य चौकी, पशु सवा कार्यालय, नवनिर्मित कृष्णलाल पार्क, सामुदायिक अध्ययन केन्द्र र सहरी स्वास्थ्य केन्द्र टेकानपुर लगायतका स्थानमा क्यामरा जडान गरिएको उहाँले जानकारी दिनुभयो ।

सबै कार्यालयका गतिविधि थाहा पाउन तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन यसले सहयोग पुग्ने वडाध्यक्ष कार्कीले विश्वास व्यक्त गर्नुभयो । वडाध्यक्ष कार्कीका अनुसार सुरक्षाको हिसाबले पनि यसले सहयोग पुग्ने छ ।