जनता टाइम्स

४ श्रावण २०८१, शुक्रबार ०८:१४

उपसभामुख रानाको गैरकानूनी धन्दा छताछुल्ल : आर्थिक लेनलेनका आधारमा ५ युवालाई भिसा दिन अमेरिकी दूतावासलाई पत्र लेखेको खुलासा


काठमाडौं, साउन ४ । पदीय दुरुपयोग गर्दै संसद् सचिवालयसँग असम्बन्धित मानिसलाई भिसाको लागि अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि उपसभामुख इन्दिरा राना चर्काे विवादमा पर्नुभएको छ ।

उपसभामुख रानाले आफ्नो टोलीको सदस्य भन्दै ५ जनालाई अन्तर्वार्ताको समय अगाडि सारिदिन काठमाडौंस्थित अमेरिकी दूतावाससँग ताकेता गरेको तथ्य बाहिर आएको हो । आफ्नो लेटरहेड प्रयोग गरी भिसाका लागि अन्तर्वार्ताको समय मिलाइदिन रानाले आग्रह गर्नुभएको छ । आफूसँगै अन्य पाँच जना पुरुषलाई भिसाका लागि सिफारिश गर्नुभएकी उपसभामुख रानाले उनीहरु के भूमिकामा कार्यरत छन भन्ने कुरा बताउनुभएको छैन ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद राना २०७९ माघ ७ गते उपसभामुख निर्वाचित हुनुभएको थियो । सोही बर्षको फागुन महिनामा उहाँ यूएन वुमनको सीएसडब्लू ६७ (मार्च ६ देखि १७) कार्यक्रममा सहभागी हुन न्यूयोर्क जानुभएको थियो । महिलासँग सम्बन्धित कार्यक्रममा उपसभामुख रानाले पुरुषै पुरुषमात्र छानेर पठाउन खोज्नुभएको पत्रमा उल्लेखित पात्रले देखाएको छ ।

रानाले गत बर्षको फागुन १४ गते अथाृत २६ फेब्रुअरीमा अमेरिकी दूतावासलाई लेखेको पत्रमा भनिएको छ, ‘म अनुरोध गर्न चाहन्छु कि सांसद र मेरा सहयोगी सदस्यहरूसँगै म पनि सँगै अन्तर्वार्ताको समय लिन चाहन्छु । किनभने कार्यक्रमको तालिका पनि निकट आइसकेको छ ।’

आफूसहित ६ जनाकै लागि यो कार्यक्रम असाध्यै महत्वपूर्ण भएको भन्दै उपसभामुख रानाले पत्रमा लेख्नुभएको छ, ‘राष्ट्रसंघको निम्तोलाई म हृदयदेखि आभार व्यक्त गर्दछु र तपाईंको समन्वयमा आशावादी छु ।’ रास्वपा नेताहरूका अनुसार उपसभामुख रानाले अमेरिकी दूतावासलाई लेखेको पत्रबारे पार्टीमा कुरा उठेको थियो । संगठन विभागका नेताहरुले सभापति रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्लेलगायत नेताहरूलाई यसबारे जानकारी गराएका थिए ।

त्यसपछि उपसभामुख रानालाई सोध्दा रास्वपा झापाका नेता उपेन्द्र गौतमलाई मात्र आफूले चिनेको र गौतमले भने अनुसार पत्र लेखेको जवाफ दिनुभएको स्रोतले बतायो । उनीहरुको पासपोर्ट नम्बरका आधारमा अध्यागमन विभाग (त्यसबेला रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री थिए) मार्फत अमेरिका गए नगएको हेरिएको थियो । सोधखोज हुन थालेपछि उनीहरु अमेरिका नगएको खुलेको थियो ।

पार्टीले उपसभामुखको पत्रमा उल्लेख गरेका व्यक्तिबारे झिकाएर छलफल गर्न खोजेको थियो । तर उनीहरुले हाम्रो पैसा फिर्ता भइसक्यो भन्दै आउन अस्वीकार गरेपछि यो विषय गुपचुप रहेको बताइएको छ । उपसभामुखले अमेरिकी दूतावासलाई लेखेको पत्र झण्डै १७ महिनापछि हालै मात्र सार्वजनिक भएको हो । पत्रमा उपसभामुख रानाले आफूसहित उपेन्द्र गौतम, सुष्मा लामा, राजेश लामा तामाङ, सुजन घर्ती मगर र धनप्रसाद गुरुङको नाम समावेश गर्नुभएको देखिएको छ ।