ताप्लेजुङ, साउन ४ । फक्ताङलुङ गाउँपालिकाको आवासीय क्षेत्रमा पहिराले क्षति भएको छ । गए राति वर्षासँगै खसेको पहिरोले गाउँपालिकाको सभाकक्षसहित आवासीय क्षेत्रमा क्षति भएको हो ।
अविरल वर्षासँगै राति २ बजे गएको पहिरोले फक्ताङलुङ गाउँपालिका भवनसँगै रहेका घरमा क्षति भएको फक्ताङलुङका अध्यक्ष राजन लिम्बूले जानकारी दिनुभयो । गाउँपालिका कार्यालयसँगैको सुवास लिम्बूको घर तथा होटल पूर्ण रूपमा क्षति भएको छ । पार्किङ गरिएका गाउँपालिकाका गाडी र मोटरसाइकल पुरिएका अध्यक्ष लिम्बूले बताउनुभयो ।
अध्यक्ष लिम्बूका अनुसार सामान्य पहिरो राति १२ बजेदेखि सुरु भए पनि ठूलो पहिरो राति २ बजे गएको थियो । सुरुमै घटना थाह पाएको कारण पालिका केन्द्र आवासीय क्षेत्रका बासिन्दा समयमै सुरक्षित क्षेत्रमा जान सफल भएकाले मानवीय क्षतिबाट बच्न सकिएको उहाँको भनाई छ ।
यस्तै तापेथोक प्रहरी चौकी बाढी पहिरोको जोखिममा परेको छ । सो चौकीका प्रमुख सुरेश सिंजालीका अनुसार चौकी उच्च जोखिममा परेको छ । ‘पहिरो खस्न थाल्यो, नजिकबाट बग्ने तमोरमा पानीको तह बढ्दै गएकाले बाढी र पहिराको जोखिम तापेथोक छ,’ सिंहले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्