जनता टाइम्स

२३ बैशाख २०७६, सोमबार १०:३९

सत्तारुढ दलको नेता बन्दै बाबुराम


काठमाडौं, वैशाख २३

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आजबाट सत्तारुढ दलका नेता बन्दै हुनुहुन्छ । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच आज एकता हुनेभएपछि उहापनि सत्तारुढ दलको नेता बन्न लाग्नु भएको हो ।

लामो समयको छलफलपछि दुई दलबीच गत शुक्रवार भएको सहमतिअनुसार एकता हुन लागेको हो । एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल हुनेछ । काठमाण्डौंको प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमबीच संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले संयुक्त रुपमा एकता घोषणा गर्नुहुनेछ । दुबै दलका अध्यक्षद्वारा हस्ताक्षरित विज्ञप्तिमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै समाजमा विद्यमान जातीय, वर्गीय, लैंगिक र क्षेत्रीय असमानता, विभेद र शोषणको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समृद्धिका लागि समाजवादी पार्टी नेपालले भूमिका खेल्ने उल्लेख छ ।

पार्टी एकीकरणपछि संघीय परिषद र केन्द्रीय समिति बनाउने सहमति जुटेको छ । परिषदको नेतृत्व बाबुराम भट्टराईले गर्ने र केन्द्रीय समितिको अध्यक्ष उपेन्द्र यादव रहने पनि सहमति भएको छ । परिषदमा नीतिगत व्यवस्थापनको जिम्मेवारी रहनेछ भने केन्द्रीय समितिले दैनिक काम र निर्णय गर्ने छ । पार्टीमा दुईजना अध्यक्ष रहे पनि कार्यकारी निकायको नेतृत्व यादवलाई दिन पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराई सहमत भएपछि एकता सम्भव भएको हो । फोरमबाट १६ जना र नया शक्तिबाट ९ जना गरी वरिष्ठ नेता, सहअध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव गरी एकीकृत दलमा २५ जना पदाधिकारी हुनेछन् । दुबै दलका पार्टी एकीकरणपछि महाधिवेशन असोज महिनाभित्र गर्ने प्रारम्भिक सहमति रहेको फोरम नेपालका बरिष्ठ उपाध्यक्ष अशोक राईले जानकारी दिनुभयो ।