जनता टाइम्स

४ श्रावण २०८१, शुक्रबार १३:३७

संसद भवनको निर्माण ढिलाई : सभामुख घिमिरेले गरे उपप्रधानसहित अधिकारीहरुसँग छलफल


काठमाडौं, ४ साउन । सभामुख देवराज घिमिरेले सिंहदरबारमा निर्माणाधीन संसद भवनको ढिलाईबारे उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहसहितका अधिकारीहरुसँग छलफल गर्नुभएको छ । आज बिहान सभामुख घिमिरेले संसद भवन निर्माणको ढिलाईबारे उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह, सचिव, भवनका महानिर्देशक र संसद भवन निर्माण आयोजना प्रमुखसहितका उच्च अधिकारीहरुसँग छलफल गर्नुभएको हो ।

साउन २ गते सभामुख घिमिरे निर्माणाधिन संसद भवन पुग्दा कामदारको संख्या न्यून रहेको र तीन सिफ्टमा काम गर्ने सम्झौता रहेकोमा एक सिफ्टमा मात्र काम भैरहेको पाएपछि उहाँले छलफल गरेको सभामुखको सचिवालयले जानकारी दिएको हो । अहिलेसम्म संसद भवनको ८२ प्रतिशत निर्माण प्रगति भनिए पनि निर्माण भएको संरचनाले त्यस्तो पुष्टि गर्न नसकेको सभामुखको सचिवालयले जानकारी दिएको छ ।