जनता टाइम्स

५ श्रावण २०८१, शनिबार २१:३३

हिमालयन आउटरिच नेपाल समिति गठन, सामाजिक काम गर्ने प्रतिवद्धता


काठमाडौं, ५ साउन । हिमालयन आउटरिच इन्टरनेशनल अस्ट्रेलियाको नेपाल च्याप्टर सस्थागत संरचना गठन भएको छ । आज एक कार्यक्रममाझ काठमाडौंस्थित एक समारोहमा भएको भेलाले इन्दिरा उप्रेतीको अध्यक्षमा ९ सदस्यीय कार्यकारी समिति गठन गरेको छ । उपाध्यक्षद्वय सानू कान्छा श्रेष्ठ र हेमा गुरुङ रहनुभएको छ । त्यसैगरी रुद्र प्रसाद दाहाललाई सचीव, सह–सचीव प्रज्वल गुरागाँई ,कोषाध्यक्ष जानुका पोख्रेल चयन हुनुभएको छ ।

यस्तै सदस्यहरुमा कुमार कार्की, प्रतिभा शर्मा, सिमा कार्की रहनुभएको छ । कार्यक्रममा मनोनीत पदाधिकारीहरुलाई हिमालयन आउटरिच अस्ट्रेलियाका सम्पर्क अधिकृत डिएन घिसिङ र सल्लाहकार एनबी गिरिले खादा एवं अविरको टिका लगाएर सम्मान गर्नुभएको थियो । उक्त अवसरमा हिमालयन आउटरिच अन्तर्राष्ट्रियको उद्धेश्य र योजनाबारे घिसिङले स्पष्ट पार्नु भएको थियो । उहाँले आगामी दिनमा बाणिज्य स्तरको शिखर सम्मेलन नेपालमा र अस्ट्रेलियामा आयोजना गर्ने लक्ष्य रहेको समेत बताउनुभयो ।

सल्लाहकार एनबी गिरिले साँस्कृतीक एवं सामाजिक भावनाले जोडेर गठन गरिएको संस्थाले रचनात्मक काम गर्ने बताउनुभयो । उहाँले जनजीवनको गुणस्तर सुधार गर्ने, सांस्कृतिक सम्पदाको प्रवर्द्धन गर्ने र दिगो विकासलाई समर्थन गर्ने उद्धेश्य प्रेरित भएकाले संस्थाले बृहत कुरा कार्यान्वयन गर्न सक्ने बताउनुभयो । नबनियुक्त अध्यक्ष ईन्दिरा उप्रेतीले कार्यगत एकता गरेर आफू बढ्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा अब संस्थागत रुपमा सम्बन्धित निकायमा विधिवत दर्ता गरेर प्रक्रिया बढाउनेसमेत निर्णय गरेको सदस्य कुमार कार्कीले बताउनुभयो ।