जनता टाइम्स

२२ आश्विन २०७६, बुधबार १९:४२

चिनियाँ राष्ट्रपतिको भ्रमणका एजेण्डाका विषयमा पूर्वप्रधानमन्त्रीसँग छलफल गर्दै प्रधानमन्त्री


काठमाडौं, असोज २२

चिनियाँ राष्ट्रपतिको भ्रमणका क्रममा नेपालले उठाउने एजेण्डाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीसँग परामर्श गर्नुहुने भएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार नेपाल आउने भएपछि एजेण्डाका विषयमा छलफल गर्न लाग्नु भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा विहान ९ बजे पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीसँग परामर्श गर्न लाग्नु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । विदेशी राष्ट्रबाट हुने राजकीय भ्रमणको समयमा आफ्नो तर्फबाट कसरी प्रस्तुत हुने भन्ने एजेण्डा तय गर्न पूर्व प्रधानमन्त्री र विज्ञहरुसँग छलफल गर्ने प्रचलनअनुसार प्रधानमन्त्री ओलीले बिहीबार बैठक डाकेको प्रधानमन्त्रीका विदेश मामिलाका सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिनुभयो ।

पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्दलगायतलाई बैठकमा बोलाइएको छ । चीनका लागि पूर्वराजदूतहरुमा महेश मास्के र टंक कार्कीलाई पनि सो छलफलमा डाकिएको छ ।