जनता टाइम्स

११ श्रावण २०८१, शुक्रबार ०८:३७

रामेछापको गोकुलगङ्गामा पहिरोले घर पुर्दा एकै परिवारका तीन किशोरीको ज्यान गयो


रामेछाप, साउन ११ । रामेछापको गोकुलगङ्गा गाउँपालिका–६ फर्पुमा बिहीबार साँझ गएको पहिरामा परी तीन जनाको मृत्यु भएको छ ।

अविरल वर्षापछि खसेको पहिराले स्थानीय विमान तामाङको घरको आधा भाग पुरिँदा १८ वर्षीया छोरी सीता तामाङ, नातिनी क्रमशः १४ वर्षीया आशिका तामाङ र १३ वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रदीपकुमार सिंहका अनुसार बिहीबार साँझ रोपाइँ सकेर घरमा आगो तापेर एकै ठाउँमा बसिरहेका उनीहरूलाई वर्षासँगै घरमाथिको ढिस्काले पुरेको थियो । सोही घरको अर्को कोठामा रहेका विमान र उहाँकी श्रीमती भने जोगिनुभएका गोकुलगङ्गा–६ का वडाध्यक्ष चन्द्र सुनुवारले बताउनु भयो ।

पहिराले घर पुरिएको सूचना पाउनासाथ जिल्ला सदरमुकाम मन्थलीबाट सहायक प्रमुख जिल्ला अधिकारी किसान न्यौपानेको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको उद्धार टोली घटनास्थलतर्फ पठाइएको रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले जानकारी दिनुभयो।