दमौली, १३ साउन । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री विन्दुकुमार थापाले प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधारका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । आज दमौली अस्पतालको निरीक्षण पश्चात आयोजित अन्तरक्रियामा मन्त्री थापाले प्रदेशको स्वास्थ्य अवस्था सुधारका लागि योजनाबद्ध रूपमा काम गरिने बताउनुभयो । उहाँले तनहुँ सदरमुकामस्थित दमौली अस्पतालको स्तरोन्नतिका लागि आफूले पहल गर्ने जानकारी गराउनुभयो ।
स्थानीय जनप्रतिनिधि, नागरिकको चासो र खबरदारीअनुसार प्रदेश सरकार अस्पतालको स्तरोन्नति गर्न गम्भीर रहेको पनि यसमा सङ्घीय सरकारबाट पनि आवश्यक सहयोग जरूरी रहेको धारणा राख्नुभयो । ‘दमौली अस्पतालको स्तरोन्नतिका लागि प्रदेश सरकार गम्भीर छ तर हाम्रो एक्लो प्रयासले मात्र हुँदैन । सङ्घीय सरकारले यसका लागि निर्णय गर्नुपर्ने अवस्था छ’, हाल कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारीसमेत सम्हालिरहनुभएका थापाले भन्नुभयो,‘प्रदेश सरकारले स्तरोन्नतिको निर्णय गरे पनि सङ्घले यसको दरबन्दी र आर्थिक स्रोत सुनिश्चित नगरेसम्म कार्यान्वयन नहुने भएकाले त्यसतर्फ सबैले ध्यानाकर्षण गराउन आवश्यक छ ।’
प्रदेश सरकारले दमौली अस्पतालको सेवा विस्तारका लागि चालु आर्थिक वर्षमा रु चार करोड बजेट विनियोजन गरेको मन्त्री थापाले जानकारी दिनुभयो । स्वास्थ्य सचिव डा विनोदविन्दु शर्माले जग्गाको समस्याका कारण दमौली अस्पताल स्तरोन्नतिमा ढिलाइ भएको बताउनुभयो । उहाँले दमौली अस्पतालको मुख्य समस्या जग्गा प्राप्ति नहुनु रहेकाले यो समस्या समाधानका लागि ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
गण्डकी प्रदेशका पूर्वमन्त्री डोवाटे विश्वकर्मा, नेपाल रेडक्रस सोसाइटी तनहुँका सभापति प्रा. डा. कृष्णप्रसाद गौतम, पूर्वनगरप्रमुख ताराप्रसाद श्रेष्ठलगायतले अस्पतालको स्तरोन्नतिका लागि आवश्यक जग्गाको व्यवस्थापन गर्न लाग्नुपर्ने बताउनुभयो । अस्पतालका प्रमुख डा. परिवर्तन बरालले पन्ध्र शय्यामा स्वीकृत अस्पतालले हाल ५० शय्यामा सेवा दिइरहेको जानकारी दिनुभयो । अस्पतालमा बढ्दो बिरामीको चापसँगै यसको स्तरोन्नति र सेवा विस्तार अति आवश्यक भइसकेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्