जनता टाइम्स

१४ श्रावण २०८१, सोमबार १४:४९

बर्दिवासमा स्थानीय सरकार बेथिति र विसंगतितर्फ उन्मुख भएको निष्कर्ष !


महोत्तरी, १३ साउन । महोत्तरीको बर्दिवासमा स्थानीय राजनीति दलहरुले स्थानीय सरकार बेथिति र विसंगतितर्फ उन्मुख भएको निष्कर्ष निकालेका छन । वडा अध्यक्ष बिराट बिष्टको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले नगरमा विकासको सट्टा विनास र अराजकता प्रवृतिको मलजल भएको निष्कर्ष निकालेका हुन । नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, लोसपा, रास्वपा, राप्रपा र जसपासहितका स्थानीय राजनीति दलका प्रतिनिधिहरुको सहभागीमा वसेको बैठकले राजश्व चुहावट, जनभावना विपरितका निर्णयले जनतामा सरकारप्रतिको बितृष्णा बढ्दै गएकोप्रति चिन्ता ब्यक्त गर्दै अन्याय र बेथितिका विरुद्ध प्रतिवाद गर्ने बताएका छन ।

नेकपा एमालेका नेता सन्त परियारले जनभावनाको उपेक्षा गर्न नहुने र यदि कसैले दुस्साहस गरे सशक्त प्रतिवाद गर्ने बताउनुभयो । पछिल्लो समय बर्दिवास(३ मा रहेको खुल्ला चौरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ कठ्ठा जग्गा माग गर्दै प्रक्रिया अगाडी बढाएको विषयप्रति पनि दलहरुले ध्यानाकर्षण जनाएका छन् । खेलमैदानकोरुपमा प्रयोग हुँदै आएको ६ कठ्ठा जग्गा अख्तियारको नाममा नापी प्रक्रिया अगाडी बढेपछी स्थानियहरुले नदिने अडान राख्दै उक्त जग्गा स्थानियहरुको हितमा उपभोग गर्न पाउनुपर्ने माग राख्दै आएका छन ।

सोही बिषयमा संचारमाध्यमवाट समाचार बाहिरिएपछी आज स्थानीय राजनीति दलहरुले एक बिज्ञप्ति जारी गर्दै उक्त जग्गा अतिक्रमण र अधिग्रहण नगर्न चेतावनी दिएका हुन । बैठकका संयोजक तथा वडा अध्यक्ष बिराट बिष्टले दलिय प्रतिनिधिहरुको हस्ताक्षरसहित विज्ञप्ति बोकेर ज्ञापनपत्र बुझाउन सरोकारवाला कार्यालयमा जाने बताउनुभयो । नगरप्रमुख प्रल्हाद कुमार क्षेत्री स्वयम विकृतितर्फ उन्मुख भएको दावि गर्दै नेकपा एमालेका नेता शंकर महतोले यस्लाई समयमा नै रोक्न नसके परिणाम अपेक्षा गरेभन्दा बाहिर जाने बताउनुभयो । नेता महतोको तर्कलाई अन्य राजनिती दलका नेताहरुले समेत समर्थन गरेका छन् ।

गलतलाई गलत भन्ने सवालमा सवैको धारणा साझा हुनुपर्ने नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति महेश झाको भनाई छ । रेल्वे निर्माणलाई लिएर ठुलो मात्रामा राज्श्व चलखेल भैइरहेको बताउँदै माओवादी केन्द्रका नेता राजु खड्काले अर्को बैठक बसेर छानविन प्रक्रियालाई दवाव दिनुपर्ने धारणा राख्नुभयो । पैसाको आडमा सार्वजनिक सम्पत्तिहरु दोहन भैइरहेको बिषयप्रती चिन्ता व्यक्त गर्दै अवैज्ञानिक र अवैधानिक दोहनले पर्यावरणमाथी नै ठुलो संकट सिर्जना हुँदै गएको उहाँको भनाई छ । मधेश प्रदेशमा नै छुट्टै पहिचान वनाउदै गएको बर्दिवासमा खानेपानीमा चरम संकट सिर्जना भैइरहेकोप्रती नेकपा एमालेका नगर अध्यक्ष तथा वडा अध्यक्ष काहारमान स्याङ्वाले ध्यानाकर्षण गराउनुभयो ।

उहाँले सचिव र कोषाध्यक्षलाई बाहिर राखेर अनियमितता भएको स्वयम् पदाधिकारीवाट गुनासो आउँदा पनि राजनीति दलहरुले ध्यान नदिएकोप्रती चिन्ता ब्यक्त गर्नुभयो । आईतवार अवैधानिक उत्खननका कारण वनेको खाल्डोमा परेर १३ बर्षिय वालक रिदम बिश्वकर्माको मृत्यु भएकोप्रती पनि राजनिती दलहरुले ध्यानाकर्षण जनाउनुभयो । वडा नं. ७ वाट मामाघर वडा नं. ६ जानेक्रममा उक्त बालकको खाल्डोमा परेर मृत्यु भएपछि स्थानिय सरकारको गैरजिम्मेवार र अनुगमनमाथी प्रश्न चिन्ह खडा भएको छ । हरेक बर्षायाममा खाल्डोमा परेर मृत्यु हुदा पनि स्थानिय सरकारको वेवास्ता दुःखद भएको बताउँदै मानव पासोकोरुपमा बनाइएको खाल्डोप्रती राजनीति दलहरुले गम्भीर ध्यानाकर्षण जनाएका छन ।