जनता टाइम्स

२४ आश्विन २०७६, शुक्रबार ०८:२६

रोशनी शाहीसँगको अबैध सम्बन्धले यसरी ढल्यो महराको साम्राज्य, सांसदबाट पनि निलम्बन


काठमाडौं, असोज २५ । संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा हिरासतमा रहेका तत्कालीन सभामुख कृष्णबहादुर महरा सांसद पदबाट समेत निलम्बन भएका छन् । पार्टी निर्णय अबज्ञा गर्दै सांसदबाट राजीनामा नदिएका महरालाई संसद सचिवालयले सूचना प्रकाशित गरी सांसदबाट निलम्बन गरेको हो ।

सत्तारुढ नेकपाले गम्भीर चारित्रिक बिचलनमा परेका महरालाई सभामुखसँगै सांसद पदबाट राजीनामा गर्न निर्देशन दिएपनि अबज्ञा गर्दै आएका थिए । संघीय संसद सचिवालयले फौजदारी अभियोग लागेका महराको सांसद पद निलम्बनमा परेको जनाएको छ । संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले महरा निलम्बनमा परेको सूचना बिहीबार जारी गर्नुभएको हो ।

प्रतिनिधिसभा नियमावलीमा फौजदारी अभियोग लागेका सांसदको पद निलम्बन हुने व्यवस्था छ । महरा पक्राउ परेपछि कार्यालय खुलेकै दिन सचिवालयले उनी सांसद पदबाट निलम्बनमा परेको सूचना जारी गरेको हो । निलम्बनसँगै महराको सांसदको हैसियतमा पाउने सेवा–सुविधासमेत रोक्का हुनेछ ।

तत्कालीन सभामुख महराले सचिवालयकै कर्मचारी शाहीलाई तीनकुनेस्थित निवासमा गएर दुर्व्यवहार गरेका थिए । दुर्व्यवहारको घटना सार्वजनिक भएपछि उनले सभामुख पदबाट राजीनामा दिएका थिए । शाहीले आफूमाथि बलात्कार प्रयास गरेको किटानी जाहेरी दर्ता गरेपछि प्रहरीले जिल्ला अदालत काठमाडौंको अनुमतिमा महरालाई सभामुखकै सरकारी निवासबाट आइतबार पक्राउ गरी हिरासतमा राखेको छ । उनीसँग बयान लिने काम भइरहेको छ । बयानकै क्रममा बिहीबार महरा अस्वस्थ भएपछि नर्भिक अस्पताल भनाइ गरिएको छ ।