सिरहा, १७ साउन । पछिल्लो समय स्थानीय तहमा वेथिती व्यापक रुपमा मौलाएको छ । स्थानीयतहको जनप्रतिनिधी र कर्मचारीको मिलेमत्तोमा स्थानीय तहमा हुने वेथिती आफैमा अत्यासलाग्दो छ ।
यसको सानो उदाहरण सिरहाको अर्नमा गाउँपालिका हो । यो पालिकाले योजनाहरुको काम सम्पन्न नै नगरी रकम निकाशा दिएको छ ।
पालिका अध्यक्ष र प्रशासकीय अधिकृतले कानुन विपरित योजनाका कामहरु सम्पन्न नै नगरी आफ्नो आफन्तले गरेको कामको आर्थिक सेटिङमा रकम भुक्तानी गरेको रहस्य खुलेको हो ।
मिलेमत्तोकै कारण भवनको छत ढलान हुनु अघि नै फर्जि मूल्याङ्कन गरेर रकम निकासा गरेको स्रोतको दाबी छ । तराई–मधेश समृद्धि कार्यक्रम र गाउँपालिकाको साझेदारीमा वडा नम्वर ३ मा पसल सञ्चालन गर्न मिल्ने ८ कोठे सटर भवन निर्माणको लागि ३४ लाख रकम विनियोजन गरिएको थियो ।
यो भवन निर्माण गर्न नामको लागी मात्र उपभोक्ता समित गठन भएको थियो । भवनको पिलर, वाल र छत ढलानको काम सम्पन्न गरी निकासा लिईसक्दा पनि उपभोक्ता समितिका अध्यक्ष सिमल देवी सदायले जानकारी नपाउनुले नामको लागि मात्र समिति गठन भएको पुष्टि गर्छ ।
यस काममा कति रकम निकासा भयो, निकासा कसले लियो भन्ने उपभोक्ता समित अध्यक्ष सदायलाई कुनै जानकारी छैन । उहाँ भन्नुहुन्छ,‘अफिसमै मिटीङ्ग भएको थियो, मलाई पनि समितिमा राखेको रहेछ । निर्माणका सम्पूर्ण काम गरिरहेका नविन यादवले घरमै आएर चेकमा सहि गराएर लग्यो । म अक्षर नचिन्ने मान्छे के लेखिएको थियो केही थाहा छैन ।’
सोही वडाका वडा अध्यक्ष महेश यादवले निमार्णका सम्पूर्ण काम नविन यादवले गरेको स्विकार गर्नुभयो ।
उहाँले भन्नुभयो,‘उपभोक्ता समिति जो कोही भएपनि काम नविन यादवले गरेको हो, काम पनि राम्रो भएको छ ।’ उहाँले वर्षाका कारण छत ढलानको काम असार २३ गते राती सम्पन्न भयो । अझै केही काम बाँकी रहेको छ । बाँकी कामको रकम कार्यालय प्रमुखले होल्ड गरेर राखेको बताउनुभयो ।
अर्नामा गाँउपालिकामा जनप्रतिनिधि तथा कर्मचारीहरुले रकम हिनामिना गर्नकै लागी गाँउघरका निमुखा, गरिव, दलित र कमजोर वर्गका व्यक्तिलाई नामकै लागी उपभोक्ता समितिमा राखेर काम आफै वा आफन्तहरु लगाएर गराउने गरेको स्रोतको दाबी छ ।
यता प्रमुख प्रशासकीय अधिकृत द्रोपती कुमारी यादवले निर्माणको सम्पूर्ण काम उपभोक्ता समितिले गरेको दावी गर्नुभयो । उहाँले भन्नुभयो,‘मैले बुझेसम्म भवनको काम उपभोक्ता समितिले गरेको हो । उपभोक्ता समितिले ठेकेदारलाई दिएर कामगराएको भए मलाई जानकारी भएन ।’
उहाँले कामको मूल्याङ्कनको आधारमा २२ लाख रुपैयाँमात्र निकाशा भएको जनाउँदै अरु थप जानकारी चाहिएकोभए कार्यालयमा आउनुस् भन्दै फोन काटन्भुाये । सटर भवन निमार्णको लागी सोही वडाका सिमल देवी सदायलाई उपभोक्ता समितिको अध्यक्षको रुपमा खडागरी काम भन्ने जनप्रतिनिधिकै आफन्त पर्ने नविन यादवले गराएको स्थानियहरुको आरोप छ ।
प्रतिक्रिया दिनुहोस्