काठमाडौं, १९ साउन । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्ने पक्का भएको छ । उहाँले पार्टीका प्रतिनिधिबाट सबैभन्दा बढी मत प्राप्त गर्नुभएको छ । ह्यारिसले यही महिनाको अन्त्यमा सिकागोमा हुने डेमोक्रेटिक राष्ट्रिय महाधिवेशनअघि सम्भावित उम्मेदवारका रूपमा छनोट हुन पाउँदा आफूलाई सम्मानित भएको बताउनुभएको छ । डेमोक्रेट पार्टीको प्रतिनिधिहरुले मतदान मार्फत ह्यारिसलाई राष्ट्रपतिको उम्मेदवारका लागि छान्नुभएको हो ।
अब यसको औपचारिक घोषणा भने यहि अगस्त १९ देखि हुने डेमोक्रेट पार्टीको कन्भेन्सनमा हुनेछ । ह्यारिस पहिलो अश्वेत महिला र दक्षिण एसियाली मूलकी पहिलो महिला हुन् जसलाई प्रमुख अमेरिकी पार्टीको राष्ट्रपतिको उम्मेदवारको रूपमा छनोट गरिएको छ ।
यदि उहाँले नोभेम्बरमा हुने चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई पराजित गरे भने उहाँ अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्नुहुनेछ । राष्ट्रपति जो बाइडेनले आफूलाई राष्ट्रपतिको दौडबाट टाढा राखेर कमला ह्यारिसलाई राष्ट्रपतिको लागि समर्थन गरेपछि, ह्यारिसले भर्चुअल रोल कलमा कुनै विरोधको सामना गर्नु परेन । कमला ह्यारिस शुक्रबार दिउँसो डेमोक्रेटका ४ हजार मध्ये २३५० डेमोक्रेटिक डेलिगेट्सको समर्थन प्राप्त गरेपछि औपचारिक रूपमा राष्ट्रपति पदको उम्मेदवार बन्नुभएको हो ।













प्रतिक्रिया दिनुहोस्