जनता टाइम्स

१९ श्रावण २०८१, शनिबार २०:४१

मन्त्रालय सुधार गर्न उद्योगले गर्यो पुर्व मन्त्री र पुर्व सचिवहरुसंग अन्तरक्रिया


काठमाडौं, १९ साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयोजना गरिरहेको ‘मन्त्रालय सुधार कार्ययोजना’ अन्तरगत मन्त्रालयको नेतृत्व गरेका पुर्व मन्त्री र पुर्व सचिवहरुसंग अन्तरक्रिया सम्पन्न गरेको छ ।

मन्त्री दामोदर भण्डारीले अग्रजहरुको अनुभव र नेतृत्वको उर्जा मार्फत हालको विद्यमान निराशालाइ चिर्दै “सुखी नेपाली–समृद्व नेपाल’’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने उदेश्यका साथ सुझाव लिइएको बताउनुभयो । पुर्व मन्त्री मिन विश्वकर्माले फाइलहरु कहिल्यै नरोकिने अवस्थामा काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कुनैपनि फाइल एकदिन भन्दा बढी कसैको टेबुलमा रोकिनु हुँदैन, यो मन्त्रालयको काम रोकियो अथवा काम गर्न नसकेर मन्त्रालय डुब्यो भने देश भोकमरीमा जान्छ । मन्त्रालयलाई सुधार गर्न सुझाव माग्नुभएको छ, सोहि अनुसार योजना बनाएर कार्यान्वयन गर्नुस् देश निर्माण हुन्छ, मन्त्री ज्यूको यो प्रयास सह्राहनीय छ ।’

पुर्वमन्त्री लेखराज भट्टले स्वदेशी उत्पादनलाई महत्व दिनुपर्ने कुरामा जोड दिनुभयो । नेकपा एमाले पार्टी सचिवसमेत रहनुभएको उहाँले स्वदेशी उत्पादनको प्रयोग बढाउन मन्त्रालयले चालेका कदम सकारात्मक रहेको बताउनुभयो । कर्ण बहादुर थापाले काम सम्पन्न गर्नका लागि निति नियमको इमान्दारिताका साथ पालना गर्नुपर्ने बताउनुभयो । उहाँले विगतमा सरकारी स्तरबाट सञ्चालन भएका मध्ये केहि उद्योगहरु सञ्चालनमा ल्याउनुपर्ने सुझाव दिनुभयो । पुर्व मन्त्री जयन्त बहादुर चन्दले आर्थिक अनियमीततामा सुन्य सहनसिलता अपनाई कामगर्न सुझाव दिनुभयो ।

उहाँले भारत र चिनले गरेको प्रगतिको सिको गर्नु जरुरी रहेको बताउनुभयो । पुर्व मन्त्री संकर कोइरालाले नितिगत कुराहरुको सुधार गरि इमान्दारिताका साथ काम गर्न सुझाव दिनुभयो । मन्त्री भण्डारीले आज आएको सुझावका आधारमा योजना निर्माण गरि कार्य सम्पादन गर्ने बताउनुभयो ।

उहाँले मन्त्रालयसंग सम्बन्ध राख्ने हरेक निकायसंग सुझाव लिएकाले उपयुक्त सुझावहरुको उचित पालना गरिने बताउनुभयो । कार्यक्रममा पुर्व मन्त्रीहरूले मन्त्रालयलाई सुधार गर्नका लागि काममा ढिलासुस्ती नगरि पारदर्शी ढंगबाट समयमै काम सम्पन्न गर्न सुझाव दिनुभएको थियो । यसैगरि कार्यक्रममा उपस्थित पुर्व सचिवहरुले नीति, निर्माण र योजना कार्यान्वयनका बिषयमा सुझाव दिनुभयो ।