जनता टाइम्स

२४ आश्विन २०७६, शुक्रबार १९:३४

२० वर्षे सैनिक गतिरोध अन्त्य गर्ने इथियोपियाका प्रधानमन्त्रीलाई नोबेल शान्ति पुरस्कार


काठमाडौं, असोज २४

सन् २०१९ को नोबेल शान्ति पुरस्कार इथियोपियाका प्रधानमन्त्री आबी अहमद अलीलाई प्रदान गरिने भएको छ । ‘शान्ति प्राप्ति र अन्तर्राष्ट्रिय सहकार्य’ जुटाउन उनले गरेको प्रयत्नका लागि उक्त पुरस्कार प्रदान गरिने भएको हो ।

सन् १९९८ देखि २००० सम्म चलेको सीमा युद्धपछि २० वर्ष लामो सैनिक गतिरोध अन्त्य गर्दै इथियोपिया र इरिट्रियाबीच गत वर्ष एउटा शान्ति सम्झौता भएको थियो । ओस्लोमा १०० औँ नोबेल शान्ति पुरस्कार विजेताका रूपमा आबी अहमदको नाम घोषणा गरिएको हो । यस वर्षको नोबेल शान्ति पुरस्कारका लागि ७८ वटा सङ्घसंस्था र २ सय २३ जना व्यक्तिहरू सहित ३ सय १ को मनोनयन परेको थियो।

पुरस्कारस्वरूप आउँदो डिसेम्बरमा ओस्लोमा विजेतालाई करिब नौ लाख अमेरिकी डलरको पुरस्कार प्रदान गरिनेछ।

को हुन् आबी ?

सन् १९७६ मा इथियोपियाको जिमा क्षेत्रमा जन्मिएका आबी अदिस अबाबा विश्वविद्यालयबाट ‘शान्ति तथा सुरक्षा मुद्दा’ विषयमा विद्यावारिधि गरेका छन् । उनले बेलायतको राजधानी लन्डनस्थित ग्रिनविच विश्वविद्यालयबाट स्नातकोत्तर गरेका हुन् । उनले सन् १९९५ मा रुवान्डामा संयुक्त राष्ट्रसंघीय शान्तिदूतका रूपमा कार्यसमेत गरेका थिए । आबी सन् २०१० मा राजनीतिमा प्रवेश गरेलगत्तै सांसदमा निर्वाचित भएका थिए ।

सन् २०१८ को अप्रिलमा प्रधानमन्त्री भएयता आबीले इथियोपियामा निकै धेरै सुधारका कार्यहरु गरिसकेका छन् । पदस्थापनापछि उनले कानुन तथा नियम खुकुलो पार्नुका साथै १० हजारभन्दा बढी विपक्षी नेता तथा कार्यकर्तालाई जेलमुक्त गरे । त्यसका साथै राजनीतिक प्रतिशोधका कारण देश निकाला गरिएकालाई उनले फर्कान पहल गरे ।

आबीले सन् २०१८ को जुलाईमा उनले इरिट्रियाका राष्ट्रपति इसियास अफवेर्कीसँग शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए । त्यसका साथै उनले विवादित क्षेत्रसमेत हस्तान्तरण गर्ने प्रतिबद्धता जनाए ।

पूर्व सैनिक ‘इन्टेलिजेन्स अफिसर’ आबी इथियोपियाकाको सत्तारूढ दल इपीआरडीएफ र ओपीडीका सभापति हुन् । त्यसका साथै उनी हाल अफ्रिकाकै सबैभन्दा कम उमेरका सरकार प्रमुख हुन् ।उनलाई आगामी डिसेम्बरमा ओस्लोमा आयोजित विशेष समारोहमा ९० लाख स्विडिस क्रोन्स (करिब ९ लाख अमेरिकी डलर) पुरस्कार, पदक तथा प्रमाणपत्र प्रदान गरिने छ ।

सन् २०१९ को नोबेल शान्ति पुरस्कारका लागि २ सय २३ जना व्यक्ति तथा ७८ संघसंस्थासहित ३ सय १ को मनोनयन परेको थियो । यस वर्षको नोबेल शान्ति पुरस्कारका लागि आबीसहित न्युजिल्यान्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डर्न र जलवायु क्षेत्रमा क्रियाशील ग्रेटा थनवर्ग पनि मनोनयमा परेका थिए ।