नयाँदिल्ली, २५ साउन । शेख हसिनाका छोरा जोय वाजिदले आफ्नी आमा बंगलादेश फर्किने बताउनुभएको छ । उहाँले नयाँ कार्यवाहक सरकारले निर्वाचन घोषणा गरे पछि आफुहरु बंगलादेश जाने बताउनुभएको हो । टाइम्स अफ इन्डियाको रिपोर्टका अनुसार हसिनाले फेरि चुनाव लड्ने कि नगर्ने भन्ने कुरा उहाँको बयानबाट स्पष्ट भएको छैन । तर, उहाँको छोराका दावी छ, चुनावको घोषणा भएलगतै आमा हसिना स्वदेश फर्कनुहुनेछ ।
बंगलादेशमा हिंसा भड्किएपछि गत अगस्ट ५ मा राजीनामा दिएर बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनाले देश छाडेर भारतको शरण लिन पुग्नुभएको थियो । यी घटनापछि पनि जनता र पार्टीलाई छाड्न नसक्ने जोयले बताउनुभएको छ । यसअघि जोयले एक अन्तर्वार्तामा आमा शेख हसिना बंगलादेश नफर्किने बताउनुभएको थियो । यस भनाइको सन्दर्भमा उहाँले भन्नुभयो,‘हो, मैले भनेको थिएँ भन्ने कुरा सत्य हो तर देशभर हाम्रा नेता र कार्यकर्तामाथि आक्रमण भएपछि अहिले धेरै परिवर्तन भएको छ । अब हामी हाम्रा जनताको सुरक्षाको लागि सक्दो प्रयास गर्नेछौं। हामी तिनीहरूलाई एक्लै छोड्ने छैनौं ।’
हसिनाका छोरा पनि राजनीतिमा आउने
पूर्वप्रधानमन्त्रीका छोरा जोयले राजनीतिमा आउन तयार रहेको बताउनुभएको छ । यसअघि जोयले आफू राजनीतिमा आउने मनसाय नभएको बताउनुभएको थियो । जोयले भन्नुभयो,‘यो मेरी आमाको अन्तिम कार्यकाल थियो । उनले अर्को चुनाव लड्ने छैनन् । मलाई पनि राजनीतिमा आउने रहर थिएन । म अमेरिकामा बसेको थिएँ तर पछिल्ला दिनमा जे भयो, त्यसले देशको नेतृत्वमा शून्यता देखाउँछ। पार्टीका लागि राजनीतिमा लाग्नुपर्छ । यसका लागि म अग्रपंक्तिमा उभिने छु ।’ अवामी लिगले चुनावमा भाग लिएमा हामी पनि जित्न सक्छौँ भन्नेमा म विश्वस्त छु जोयले भन्नुभयो । अवामी लिग बंगलादेशको सबैभन्दा ठूलो र पुरानो पार्टी हो । हामीसँग सबैभन्दा ठूलो पार्टी कार्यकर्ता छ ।
शेख हसिना भारतमै बस्ने, मोदीलाई धन्यवाद
शेख हसिनाको कुनै पनि देशमा शरण लिने मनसाय नभएको जोयले दाबी गर्नुभयो । उहाँले भन्नुभयो,‘मेरी आमा भारतमा हुनुहुन्छ । अब ऊहाँ कतै जानु हुन्न । अन्तरिम सरकारले नयाँ निर्वाचनका लागि हरियो संकेत दिने बित्तिकै मेरी आमा बंगलादेश जानु हुनेछ । यति छोटो समयमा मेरी आमाको ज्यान बचाउनु भएकोमा म प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आभारी छु ।’
बंगलादेश हिंसामा पाकिस्तान–आईएसआई संलग्नः
जोयले पाकिस्तानले बंगलादेशमा अशान्ति भड्काएको आरोप लगाउनुभएको छ । यस अराजकतामा पाकिस्तानको आईएसआईको हात रहेको देखाउने यस्ता प्रमाण भेटिएको उहाँले बताउनुभयो । यो पूर्णतया योजनाबद्ध थियो । सामाजिक सञ्जालमा अफवाह फैलाएपछि स्थिति तनावग्रस्त बनेको छ । सरकारले स्थिति नियन्त्रण गर्न खोजे पनि असफल भयो ।
आतंककारी संगठन वा विदेशी शक्तिले मात्रै उपलब्ध गराउन सक्ने हतियार भएकाले दंगालुहरूले प्रहरीमाथि बन्दुकसहित आक्रमण गरेको जोयले आरोप लगाउनुभएको छ । बंगलादेशमा धेरै दिनको राजनीतिक उथलपुथलपछि गएराति अन्तरिम सरकार गठन भएको छ । नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसले अन्तरिम सरकारको प्रमुखको रुपमा शपथ लिनुभएको छ । सपथ ग्रहण समारोहमा बंगलादेशका लागि भारतीय उच्चायुक्त प्रणय वर्मा पनि उपस्थित रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्