जनता टाइम्स

२५ आश्विन २०७६, शनिबार १५:५८

चिनियाँ राष्ट्रपति सवार विमान नेपाली आकाशमा प्रवेश


काठमाडौं, असोज २५

चिनियाँ राष्ट्रपति सी चिनफिङ चढेको विमान नेपाली आकाशमा प्रवेश गरेको छ । भारतको चेन्नईबाट उडेको सो विमान नेपाली आकाशमा प्रवेश गरेको हो । नेपाली आकाशमा प्रवेश गर्नुअगावै आन्तरिक र बाह्य उडान रोकिएको छ । सी को विमान रौतहटको गौरबाट नेपाली आकाशमा प्रवेश गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहालाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्दैहुनुहुन्छ । चीनका राष्ट्रपति सी चिनफिङको स्वागतका लागि त्रिभुवन विमानस्थलदेखि उहाँ सवार हुने मार्गमा विभिन्न झाँकीसहित तयारी गरिएको छ । नेपाल सरकार, सुरक्षा निकाय, काठमाडाँै महानगरपालिकासहित विभिन्न निकायले आफ्नो जिम्मेवारीअनुसार तयारीलाई अन्तिम रुप दिएका हुन् ।

सडकको दायाँबायाँमा सुरक्षाकर्मी तैनाथ गरिनाका साथै दुवै देशको झण्डा लिएर राष्ट्रसेवक कर्मचारी, युवा, विद्यार्थीलगायत सर्वसाधारण राष्ट्रपति सिको स्वागतका लागि प्रतिक्षारत छन् । उनीहरुले सीको सवारीमार्गमा कर्तल ध्वनिका साथ स्वागत गर्नेछन् । धुलो हटाउन सडकमा पानी र ब्रुमरले सरसफाइ गरिएको छ । राष्ट्रपति सी त्रिभुवन विमानस्थलदेखि होटेल सोल्टीमा ‘कारगेट’बाट पाल्नुहुने भएकाले ठाउँठाउँमा स्वागत ब्यानर र विभिन्न आकर्षक तस्बिर सजाइएको छ ।

यस्तै सीको स्वागतका लागि सडकमा विभिन्न वेषभूषामा सजिएका र विभिन्न बाजासहितका जनसमुदाय उपस्थित छन् भने राष्ट्रसेवक कर्मचारीसहित सर्वसाधारण दिउँसो चार बजे स्वागतका लागि सडकका दुवै किनारमा उपस्थित भएका छन् ।