कर्णाली, २८ साउन । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले प्रदेश सरकार युवा नीति ल्याउने तयारीमा रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा सुर्खेतको वीरेन्द्रनगरमा आज आयोजित ‘कर्णाली प्रदेशस्तरीय युवा संवाद’ कार्यक्रममा उहाँले युवाको परिचालन, व्यवस्थापन, सीप तथा क्षमता अभिवृद्धिका लागि प्रदेश युवा नीति आवश्यक ठानेर सरकार ल्याउने तयारीमा रहेको बताउनुभयो ।
पछिल्लो समयमा युवा विदेसिनेक्रम बढ्दो भएकाले स्वदेशमै उनीहरुलाई उद्यम, व्यवसाय गर्न प्रोत्साहन गर्ने नीति ल्याउने उहाँको भनाइ थियो । त्यस्तै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक, दृष्टिविहीन अपाङ्गतालगायत लक्षित वर्गका व्यक्तिका निम्ति प्रादेशिक शिक्षा नीतिबाट उचित व्यवस्था हुने विश्वास रहेको उहाँले बताउनुभयो ।
खेलकुद क्षेत्रको विकास गर्न राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश सरकारले तयारी गरिरहेको जानकारी दिँदै मन्त्री भण्डारीले प्रतियोगिताका निम्ति थप रकम जुटाउन पहल गर्ने पहिलो निर्णय भएको बताउनुभयो । उहाँका प्रदेश सरकारको आन्तरिक आम्दानी कमजोर हुँदा चाहेजस्तो काम गर्न नसके पनि प्रयास भने निरन्तर हुनेछ । कमजोर आन्तरिक स्रोतका कारण सङ्घीय सरकारले दिएको बजेटका आधारमा नीति बनाउनुपर्ने बाध्यकारी अवस्था रहेको मन्त्री भण्डारी बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्