जनता टाइम्स

३१ श्रावण २०८१, बिहिबार १४:२७

आईएमई रेमिट र जीएमई रेमिटको एकीकृत कारोबार सुरु


काठमाडौं, साउन ३१ । रेमिट्यान्स कम्पनी आईएमई र जीएमई रेमिटको मर्जरपछि एकीकृत कारोबार सुरु भएको छ । मर्जरपछि आईएमई लिमिटेडको नाममा बुधबारबाट एकीकृत कारोबारको शुभारम्भ गरिएको हो ।

एकीकृत कारोबारको शुभारम्भ गर्दै आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आईएमई सुरुवातको समय करिब २० प्रतिशतमात्र औपचारिक रहेको रेमिट्यान्स अहिले करिब ८० प्रतिशत औपचारिक माध्यमबाट आउन थालेको जानकारी दिनुभयो । उहाँले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले समय समयमा ल्याउने नीति नियमको पूर्ण पालना गर्दै अगाडि बढ्ने गरेको बताउनु भयो ।

आईएमई ग्रुपमार्फत सरकार र जनताको आवश्यकता र प्राथमिकतामा रहेका विभिन्न डेढ दर्जन बढी क्षेत्रमा लगानी विस्तार गरेको उहाँले बताउनु भयो । त्यस्तै, उहाँले रेमिट्यान्स सेवाबाट व्यावसायिक यात्रा सुरु गरेको आईएमईले अहिले आफ्नो लगानी सेवामूलक, उत्पादनमूलक र पूर्वाधार विकासका विभिन्न क्षेत्रमा विस्तार गरिरहेको समेत बताउनु भयो ।

त्यस्तै, आईएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले अवको दिनमा आफ्नो सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन राष्ट्र बैंकसहित सरोकारवाला निकायको सहयोग आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले रेमिट्यान्स र बैंकिङ कारोबारलाई डिजिटल बनाउँदा पनि समस्या आउने गरेको बताउनु भयो । मर्जरपछि कम्पनीको कारोबार वार्षिक साढे तीन खर्ब रुपैयाँभन्दा बढी हुने भएको छ ।

आईएमईको पुँजी ९० करोड र जीएमईको पुँजी २५ करोड रुपैयाँ रहेको पुँजी मर्जपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब १५ करोड रुपैयाँ कायम हुनेछ ।