जनता टाइम्स

२५ आश्विन २०७६, शनिबार १९:५८

राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षी सी बीच शिष्टाचार भेटवार्ता


काठमाडौं, असोज २५

राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी चिनफिङबीच शिष्टाचार भेटवार्ता भएको छ । दुई दिने राजकीय भ्रमणका लागि शनिवार अपराह्न नेपाल उत्रिए लगत्तै उहाहरुबीच भेटवार्ता भएको हो ।

सीलाई भण्डारीले विमानस्थलमै स्वागत गरेपछि औपचारिक भेटवार्ता भने राष्ट्रपति भवन शितल निवासमा भएको हो । होटल सोल्टीमा केहीबेर आराम गरेर सी शिष्टाचार भेटवार्ताका लागि शितल निवास पुग्नु भएको थियो । सीले राष्ट्रपति भवन शीलत निवासमा रहेको भ्रमण पुस्तिकामा हस्ताक्षर गर्नुभएको छ ।

भेटमा द्विपक्षिय हित र आपसी सम्बन्धका विषयमा छलफल भएको छ । राष्ट्रपति भण्डारीसँग भेटवार्ता सकिएपछि सी होटल सोल्टी फर्किनु भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

भेटवार्ता लगत्तै राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षीको सम्मानमा आयोजना गरेको रात्रिभोजमा सरिक हुनुहुनेछ । सो भोजमा प्रधानमन्त्रीसहित उच्च पदस्थ अधिकारीसहित करिव २५० जनालाई आमन्त्रण गरिएको छ ।

भोलि सीले प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गर्नुहुनेछ । केही सम्झौतामा समेत हस्ताक्षर हुने कार्यक्रम रहेको छ । त्यस्तै सीले भोलि नै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उहा भोली नै मध्यान्ह स्वदेश फर्किने कार्यक्रम रहेको छ ।