जनता टाइम्स

२५ आश्विन २०७६, शनिबार २१:४९

नेपाललाई भूपरिवेष्ठित देशबाट भूजडित देश बनाउने चिनियाँ राष्ट्रपतिको घोषणा


काठमाडौं, असोज २५

चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको भूपरिवेष्ठित देशबाट भूजडित देश बन्ने सपना साकार पार्न मद्दत गर्ने घोषणा गर्नुभएको छ । शनिबार साँझ सोल्टी होटलमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति सीले नेपाल र चीनबीच अझ सुविधाजनक कनेक्टिभिटी निर्माण गरिने बताउनु भयो । उहाले सीमापारीको रेल सम्भाव्यता अध्ययन सुरु गर्ने घोषणा समेत कार्यक्रम गर्नुभयो ।

केरुङ्देखि काठमाडौंसम्मको सुरुङमार्गको परियोजनालाई सहयोग गर्ने बताउदै बढीभन्दा बढी नाकाहरु खोल्ने प्रतिबद्धता समेत जनाउनु भयो । ‘सीमा पार रेल मार्गको सम्भाव्यता अध्ययन गर्ने, काठमाडौंसम्मको सुरुङ मार्गलाई अघि बढाउन सक्रिय हुने छौं’ सीले भन्नुभयो, ‘नेपाललाई भूपरिवेष्ठित देशबाट भूजडित देश बनाउन सहयोग गर्ने छौं ।’

‘काठमाडौंमा मेरो पहिलो भ्रमण हो’ सीले भन्नुभयो, ‘नेपालको स्थायीत्व र जनताको सुखी जीवन प्रति म हर्षित छु, भविष्यप्रतिको आशा जागेको छ ।’ भ्रमणले दुई देशबीचको घनिष्ट राजनीतिक सम्बन्ध अझै मजबूद बन्नेमा आफू आशावादी रहेको भनाई राख्नु भयो । ‘चीन र नेपालले शताब्दिऔं देखिको मैत्रीपूर्ण सम्बन्धको नमूना विश्वमा पेश गरेको छ, नेपाल र चीनका बीचमा केही समस्या छैन, मित्रता मात्र छ’, सी को भनाई छ ।

राष्ट्रपति भण्डारी र आफूले चुनौती र कठिनाइलाई मिलेर सामना गरि अघि बढ्न सहमति गरेको सीले बताउनु भयो । राष्ट्रपति सीले नेपालमा भूकम्पपछिको पुनःनिर्माण परियोजनालाई चीनले सक्रियताका साथ अघि बढाइरहेको बताउनु भयो ।

नेपालले सन् २०२० लाई भ्रमण वर्ष मनाउन लागेको भन्दै सीले यसबीचमा धेरै भन्दा धेरै चिनियाँ पर्यटकलाई नेपाल भ्रमणका लागि पठाउन उत्प्रेरित गर्ने पनि बताउनु भयो । बुद्धको जन्म स्थल लुम्बिनीमा आगामी दिनमा धेरै भन्दा धेरै चिनियाँ पर्यटक आउने विश्वास समेत उहाले व्यक्त गर्नुभयो ।

चीन र नेपालले बहुपक्षीय सहकार्य गर्ने सीको भनाइ थियो । नेपाल र चीनले बहुलबाद र आर्थिक भूमण्डलीकरणलाई समर्थन गर्नुपर्ने उहाको भनाइ थियो । जलवायु परिवर्तनको मिलेर सामना गर्नुपर्ने भन्दै सीले चीन सगरमाथा र हिमालय क्षेत्रको रक्षा गर्न सदा तत्पर रहने उल्लेख गर्नुभयो ।

‘नेपालका नेतासँग मिलेर चीन र नेपालको विकासको खाका बनाउन पाएकोमा खुसी छु,’ सीले भन्नुभयो । प्रधानमन्त्री केपी ओलीसँग द्वीपक्षीय सरोकारका विषयमा मिलेर अघि जाने गरी कुरा गर्ने उनको भनाइ थियो । ‘शुरु गरेका योजनाहरुलाई पूरा गरेरै छोडौं,’ सीले भन्नुभयो ।

सम्वोधनको अन्तिममा उहाले नेपालीमा दुई शब्द समेत भन्नुभयो, ‘नेपाल–चीन दाईभाई, चीन नेपाल मैत्री जिन्दाबाद ।’