जनता टाइम्स

२३ बैशाख २०७६, सोमबार १२:२२

नेकपाको सम्पूर्ण एकता जेठ ३ गते सकिने, शिर्ष नेताविच छलफल


काठमाडौं, वैशाख २३

नेपाल कम्युनिष्ट पार्टी नेकपाको सम्पूर्ण एकता जेठ ३ गते सकिने भएको छ । तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाले एकीकरणको एक वर्ष पुगेकै दिन जेठ ३ गतेभित्रै एकीकरणको सम्पूर्ण प्रक्रिया टुंगो लगाउने तयारी भईरहेको हो । ठूला दुई पार्टीबीचको एकतापछि भागबण्डा, नेता तथा कार्यकर्ता व्यवस्थापन, जिम्मेवारी लगायत कारण एक वर्ष हुँदा समेत पूर्णता पाउन सकेको छैन ।

पार्टीको पोलिटब्युरो गठन हुनै बाँकी छ भने केन्द्रीय सदस्यको जिम्मेवारी र जनवर्गीय संगठनको एकतामा सहमति हुन सकेको छैन । एकताका लागि बाँकी सबै कामको टुंगो लगाउन सम्पूर्ण काम एकसाथ भइरहेको नेकपा स्रोतको भनाई छ । १ सय ४७ सदस्सीय पोलिटब्युरो बनाउने सहमति भएपनि त्यसमा को को रहने भन्ने टुंगो लाग्न सकेको छैन । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार पोलिटब्युरो गठन र केन्द्रीय सदस्यहरुको जिम्मेवारीका लागि शीर्ष तहमा छलफल भईरहेको छ ।

जेठ ३ गते ऐतिहासिक दिनको अवसर पारेर पार्टी एकतासँगै नेताहरुको जिम्मेवारीका सम्पूर्ण काम सक्ने गरी तयारी भईरहेको नेता नेम्बाङले बताउनुभयो । ९ सदस्सीय सचिवालय यसअघिनै बनाईसकेको नेकपाको केन्द्रीय समिति ४ सय ४१ सदस्यीय हुने सहमति छ । नेकपाको स्थायी समिति भने ४५ सदस्सीय छ । जनवर्गीय संगठनको नेतृत्वमा समेत भागबण्डा मिलेको दावी नेकपाका नेताहरुले बताउदै आएका छन् ।