जनता टाइम्स

२६ आश्विन २०७६, आईतवार ०८:३८

आइतबार पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साढे २ घण्टा बन्द हुने


काठमाडौं, असोज २६ ।  आइतबार पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साढे २ घण्टा बन्द हुने भएको छ । आइतबार बिहान ११ बजेर २० मिनेटदेखि १ बजेर ५० मिनेटसम्म विमानस्थलबाट कुनै पनि उडान र अवतरण नहुने विमानस्थल कार्यालयले जनाएको छ ।

चिनियाँ राष्ट्रपति सी दिउँसो साढे १२ बजे चीन प्रस्थान गर्ने भएकाले यो समयमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण बन्द गर्न लागिएको हो । शनिबार चिनियाँ राष्ट्रपति सी आउने बेला पनि दिउँसो २ बजेर ५५ मिनेटदेखि बेलुकी ५ बजेर २५ मिनेटसम्म सबै उडान र अवतरण रोकिएका थिए ।

आइतबार पनि काठमाण्डौको रिङरोडभित्र ठूला मालवाहक गाडी प्रवेशमा रोक लगाइएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण लक्षित गरी सुरक्षा व्यवस्थालाई ध्यान दिएर शनिबार र आइतबार रिङरोडभित्र ठूला गाडी चलाउन रोक लगाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

नेपाली सेनाको नेतृत्वमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारी खटिएका छन् । सीको सुरक्षाका लागि चिनीयाँ सुरक्षाकर्मीको टोली पनि काठमाडौं छ । सीको भ्रमणको अवसरमा सरकारले आइतबार देशैभर सार्वजनिक बिदासमेत दिएको छ ।