जनता टाइम्स

२६ आश्विन २०७६, आईतवार ०९:०१

अध्यक्ष प्रचण्ड र राष्टपति सीबीच एक्ला–एक्लै भेटवार्ता पछि नेकपाका नेतासँग सामूहिक भेट


काठमाडौं,  असोज २६ । नेपालको दुई दिने भ्रमणमा आउनुभएका चीनका राष्टपति सी जिनपिङले आइतबार पनि भेटवार्तालाई तीव्रता दिनुहुने भएको छ ।

चिनियाँ राष्ट्रपति सीले आइतबार प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दलका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने कार्यतालिका छ । चिनियाँ राष्ट्रपति सीले सत्तारुढ दलका अध्यक्ष प्रचण्डको नेतृत्वमा बिहान १० : ३० बजे नेकपाका नेताहरुसँग सामूहिक भेट गर्ने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

भेटमा नेकपाका सचिवालयका सदस्यहरु सहभागि हुने बुझिएको छ । सामूहिक भेटपछि भने अध्यक्ष प्रचण्ड र चिनियाँ राष्टपति सीबीच एक्ला–एक्लै भेटवार्ताको समय पनि निर्धारण गरिएको छ ।

अध्यक्ष दाहालसँगको भेटपछि भने राष्टपति सीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गर्ने कार्यतालिका छ । भेटमा आपसी हित र सहकार्यका विषयमा कुराकानी हुने छ ।

प्रधानमन्त्रीसँगको भेटपछि भने द्विपक्षीय वार्ताको कार्यतालिका छ । नेपाल र चीनबीच विभिन्न परियोजना निर्माणका लागि सम्झौता हुँदैछ । राष्टपति सीको सहभागितामा परियोजनामा हस्ताक्षर हुने कार्यक्रम छ । त्यसपछि भने उहाँ दिउँसो १ बजे स्वदेश प्रस्थान गर्ने कार्यतालिका छ ।