जनता टाइम्स

५ भाद्र २०८१, बुधबार ११:१२

ट्रम्पले जितेको र चार वर्षको अराजकता फेरि हेर्न चाहदैनौं : ओबामा


काठमाडौं, ५ भदौ । अमेरिकाको सिकागोमा डेमोक्रेटिक पार्टीको राष्ट्रिय महाधिवेशन जारी रहेको छ । यस सम्मेलनमा पूर्व राष्ट्रपति बाराक ओबामा र उहाँकी पत्नी मिशेल ओबामाले पनि सम्बोधन गर्नुभएको छ । यस क्रममा मिशेल ओबामाले ट्रम्पमाथि कडा हमला गर्नुभएको छ । मिशेलले अमेरिकी हुनु भनेको के हो भन्नेमा कसैको एकाधिकार नरहेको बताउनुभयो । मिसेल ओबामाले कमला ह्यारिस राष्ट्रपति पदका लागि सबैभन्दा शिक्षित उम्मेदवार भएको बताउनुभयो ।

डेमोक्र्याटिक नेशनल कन्भेन्सनमा आफ्नो सम्बोधनमा पूर्व राष्ट्रपति बराक ओबामाले डोनाल्ड ट्रम्पलाई आलोचना गर्नुभएको छ । ओबामाले ट्रम्पले शक्तिलाई आफ्नो उद्देश्य हासिल गर्ने माध्यम मात्र बनाएको बताए । उनले आफुहरुले ट्रम्पले जितेको र चार वर्षको अराजकता फेरि हेर्न नचाहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘हामीले प्रायः फिल्महरूमा देखेका छौं कि सिक्वेल फिल्महरू प्रायः खराब हुन्छन् ।’ ओबामाले नोभेम्बरको चुनाव नजिकको लडाई हुने बताउदै कमला ह्यारिस र उप–राष्ट्रपति उम्मेदवार टिम वाल्जको प्रशंसा गर्नुभयो ।

उहाँले जो बाइडेनको प्रशंसा गर्दै यो देशले उहाँलाई एक प्रतिभाशाली राष्ट्रपतिको रूपमा सम्झने बताउनुभयो । साथै उहाँले बाइडेनले ठूलो खतराको समयमा लोकतन्त्रलाई बचाएको भन्दै प्रशंसा गर्नुभयो । त्यस्तै सिनेटर बर्नी स्यान्डर्सले मंगलबार डेमोक्रेटिक नेशनल कन्भेन्सनमा अमेरिकी जनतालाई उपराष्ट्रपति कमला ह्यारिसलाई देशको अर्को राष्ट्रपति चुन्न आग्रह गर्नुभयो । आफ्नो सम्बोधनमा, स्यान्डर्सले श्रमिक वर्गलाई आकर्षित गर्ने र ठूला–ठूला कर्पोरेट कम्पनीहरूमा क्र्याक डाउन गर्ने कुरा गर्नुभयो ।