जनता टाइम्स

२६ आश्विन २०७६, आईतवार १५:२८

नेपालको दुईदिने राजकीय भ्रमण सकेर स्वदेश फर्किए चिनियाँ राष्ट्रपति सी चिनफिङ


काठमाडौं, असोज २६ । नेपालको दुई दिने राजकीय भ्रमण सकेर चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्कनुभएको छ । शनिबार अपरान्ह काठमाडौं ओर्लनुभएका चिनियाँ राष्ट्रपति सी आज दिउँसो २ बजेर ४० मिनेट जाँदा एयर चाइनाको विशेष विमानबाट बेइजिङतर्फ फर्कनुभएको हो ।

स्वदेश फर्कदा उहाँलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले विदाइ गर्नुभयो । शनिबार स्वागत गर्न पनि राष्ट्रपति भण्डारी नै विमानस्थल पुग्नुभएको थियो । यस्तै विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतका विशिष्ट व्यक्तिहरुले बिदाइ गर्नुभएको थियो । स्वदेश फर्कनुअघि नेपाली सेनाले चिनियाँ राष्ट्रपति सीलाई बिदाई सलामी अर्पण गरेको थियो ।

सी चिनियाँ ध्वजाबहाक जहाज एयर चाइनाको विशेष विमानमार्फत भारतको चेन्नाइबाट शनिबार काठमाडौं आउनुभएको थियो । उहाँसँगै एयर चाइनाकै अर्को विमान पनि ल्याइएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल आउनु भएका सीको भ्रमणको क्रममा आजै सोल्टी होटलमा सम्झौता र समझदारी पत्रमा हस्ताक्षर भएको छ ।