बारा, भदौ ९ । बाराका सरकारी कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा कूल विनियोजित बजेटको ८३ दशमलव ६९ प्रतिशत अर्थात दुई अर्ब २७ करोड दुई लाख ३७ हजार आठ सय ३४ रुपैयाँ पुँजीगत खर्च गरेको तथ्यांक बाहिर आएको छ ।
मधेस प्रदेश सरकारले गत आवमा प्रदेश सरकार मातहतका १५ वटा सरकारी कार्यालय र १६ वटा स्थानीय तहका लागि पुँजीगत र चालुतर्फ दुवै गरेर तीन अर्ब ७० करोड ८० लाख सात हजार तीन सय ७० रुपैयाँ विनियोजन गरेको थियो ।
प्रदेश लेखा एकाइ कार्यालयका प्रदेश कोष नियन्त्रक श्यामउदय ठाकुरले बाराका सरकारी कार्यालयले गत आवमा विनियोजित बजेटको चालु र पुँजीगत दुवैतर्फ गरेर ८१ दशमलव ०९ प्रतिशत अर्थात तीन अर्ब ६९ लाख ५४ हजार तीन सय ९५ रकम खर्च भएको जानकारी दिनुभयो ।
‘गत आवमा बाराका सरकारी कार्यालयको चालु र पुँजीगत दुवैतर्फ गरेर समग्रमा ८१ दशमलव ०९ प्रतिशत खर्च भएको छ । गत आवको समग्रमा खर्च उत्साहप्रद रहेको छ,’ उहाँले भन्नुभयो, ‘बाराका सरकारी कार्यालयको चालु खर्च ७४ दशमलव ०२ प्रतिशत छ ।’ उहाँले बाराका सरकारी कार्यालयले गत आवमा पुँजीगत खर्च पनि उत्साहजनक ढङ्गले गरेको जानकारी दिनुभयो ।
प्रदेश सरकारले बाराका १६ पालिकाका लागि २० करोड ४२ लाख ३६ हजार बजेट विनियोजन गरेकामा सो अवधिमा १६ करोड ४२ लाख ३५ हजार छ सय ७९ रकम खर्च गरेका छन । बाराका सरकारी कार्यालयले गत आवमा ११ करोड ११ लाख ७७ हजार चार सय २७ रकम सङ्कलन गरेका छन ।
प्रतिक्रिया दिनुहोस्