जनता टाइम्स

१० भाद्र २०८१, सोमबार १९:४६

तीजका अवसरमा विराटनगरमा ‘नारी उत्सव २०८१’ हुने


विराटनगर, १० भदौ । मोरङ उद्योग व्यापार सङ्घको महिला उद्यमी समितिले हरितालिका तीजको उपलक्ष्यमा विराटनगरमा ‘नारी उत्सव २०८१’ प्रदर्शनी आयोजना गर्ने भएको छ । भदौ १४ देखि १६ गतेसम्म आयोजना हुने प्रदर्शनीमा स्थानीय उत्पादनलाई बजारीकरणमा मद्दत पुर्याउने उद्देश्य राखिएको समितिले जनाएको छ ।

यसबाट बजार प्रवर्द्धनमा, निर्यातयोग्य वस्तुहरूको पहिचान गरी अवसर सिर्जना, उत्पादनकर्ता र उपभोक्ताबीचको सम्बन्ध विस्तार तथा आर्थिक विकासमा योगदान पुग्ने विश्वास गरिएको छ । उत्सवले उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलगायत विभिन्न क्षेत्रमा संलग्न महिला उद्यमीलाई प्रोत्साहन गर्ने आयोजना गरिने समितिका संयोजक श्रुति शर्माले बताउनुभयो ।

बिहान १० बजेदेखि बेलुकी ८ बजेसम्म विराटनगरको सिटी पार्टी प्यालेस आयोजना गरिने उत्सवमा निःशुल्क प्रवेशको व्यवस्था रहने छ । उत्पादन प्रदर्शनीका लागि वातानुकूलीत (एसी) र ‘नन एसी’ गरी करिब ६० वटा स्टल रहने र १८ वर्षमाथिका महिलाका लागि ‘तीज क्वीन २०८१ प्रतियोगिता’ आयोजना गरिने, प्रत्येक दिन बेलुका विभिन्न स्थानीय कलाकारबाट साङ्गीतिक कार्यक्रम आयोजना गरिने समितिका संयोजक शर्माले जानकारी दिनुभयो ।

भोलि राधाकृष्णको रथयात्रा

विराटनगरमा भोलि राधाकृष्णको रथयात्रा निकालिने भएको छ । यात्रामा सम्भावित आपराधिक गतिविधिलाई सिसी क्यामराबाट निगरानी गरिने नगरप्रहरीले जनाएको छ ।

राधाकृष्ण मन्दिरदेखि रोडशेष चोकसम्म जडान गरिएका सिसी क्यामराबाट सुक्ष्म रूपमा निगरानी गरिने नगरप्रहरी प्रमुख राजन पौडेलले जानकारी दिनुभयो । नेपाल प्रहरी र सशस्त्र प्रहरीसित समन्वयमा रथयात्राको भीडमा हुनसक्ने चोरी, पकेटमार, महिलामाथि हुने दुव्र्यवहारलगायत गतिविधि निगरानी गरिने र कैफियत देखिए तत्काल नियन्त्रणमा लिइने उहाँले बताउनुभयो ।

महानगरले रथयात्रा निकालिने राधाकृष्ण मन्दिरदेखि रोडशेष चोकसम्म ३७ वटा सिसी क्यामरा यसअघि नै जडान गरिसकेको छ । रथयात्रामा करिब पाँच लाख भक्त्तजन सहभागी हुने आयोजकले अनुमान गरेको छ । यहाँ हरेक वर्ष कृष्णजन्माष्टीको भोलिपल्ट रथयात्रा निकाल्ने गरिएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले रथयात्राको सुरक्षाका लागि सुरक्षा समितिले नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित ड्रोनबाट पनि सुरक्षाको प्रबन्ध मिलाइएको जानकारी दिनुभयो ।