जनता टाइम्स

१३ भाद्र २०८१, बिहीबार १६:१३

महोत्तरीमा वडा अध्यक्ष दुर्घटना प्रकरण : शंकास्पद रहस्य बाहिरिए


महोत्तरी, १३ भदौ । महोत्तरीको बर्दिवास र औरही नगरपालिकाको सिमानामा मृत भेटिएका वडा अध्यक्षको विषयमा शंकास्पद रहस्यहरु बाहिरिएका छन । आइतबार विहान उक्त ठाउँमा मृत भेटिएका रामगोपालपुर–२ का वडा अध्यक्ष मुकेश यादवको मृत्युको कारण उहाँ सवार मोटर्साइकल दुर्घटना भएको पारम्भिक निष्कर्ष निकालिएको थियो । परिवारवाट नियोजित हत्या नै भएको दावी गरिरहेको बेला घटनास्थलमा फेला परेका प्रमाण र दुर्घटनाको पकृतिले आशंका गर्ने प्रसस्त आधारहरु भएको स्थानियहरुले बताएका छन् ।

दुर्घटनाग्रस्त मोटरसाइकलको पछाडीको भागमा क्षती पुग्नु, मृतकको तिघ्रा र छातीमा निलडाम देखिनु, जुत्ता फुक्लिएको देखिएतापनी खुट्टामा कुनै चोटपटक नदेखिनु जस्ता विभिन्न आधारहरुले घटना रहस्यमय भएको अध्यक्षका आफन्त पर्ने सन्तोष यादवको भनाई छ । सोमबार भएको पोष्टमार्टम रिपोर्टले समेत मृत्युको मुख्य कारण छाती र टाउकोमा गम्भीर चोट लाग्नुलाई आधार बनाएको छ ।

छातिमा केही निलडाम जस्तो देखिनु र सोही भागमा नै गहिरो र गम्भीर चोटपटक लागेको पोष्टमार्टमको रिपोर्टमासमेत उल्लेख गर्नुले आशंका गर्ने कयौं ठाउँहरु देखिएको माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खड्काले बताउनुभयो । मृतक यादव माओवादी केन्द्र निकट हुनुहुन्थ्यो । उहाँले यसअघिको निर्वाचनमा पनि माओवादी केन्द्रवाट नै निर्वाचित हुनुभएको थियो ।

घटनाको छानविन गर्न माओवादी केन्द्रको माग

माओवादी केन्द्रले उहाँको मृत्यु रहस्यमय भएको भन्दै प्रशासन कार्यालयलाई अनुसन्धान गर्न दवाव बढाएको छ । आज एक पत्रकार सम्मेलनका विच माओवादी केन्द्र महोत्तरीले नियोजित हत्या गरिएको दावी सहित विभिन्न आधारहरु सार्वजनिक गरेको छ । पार्टीका महोत्तरी इन्चार्ज तथा पोलिटब्युरो सदस्य राजु खडकाका अनुसार मृतक यादवको मृत्यु लेनदेन र राजनीति प्रतिस्पर्धासँग समेत जोडिएको छ ।

मृतक यादवको निधनले रहस्यमय गम्भीर शंकाहरु उब्जाएको बताउँदै सुक्ष्म अध्ययण्न गर्दा हत्या भएको नै प्रतित हुने इन्चार्ज खड्काले बताउनुभयो । मधेश प्रदेश इन्चार्ज लीलामणि पोखरेल, पूर्वमन्त्री तथा माओवादी केन्द्र संसदिय दलका नेता भारत साह, केन्द्रिय सदस्य भवानी थापासहितको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा अन्यन्त्रवाट घटना घटाएर अपराधीले दुर्घटनाको नाटक गरेको बताईएको छ ।

घटनास्थलको पकृति हेर्दा हत्या नै गरेको दाबीसहित माओवादी केन्द्रले ८ वटा आधारहरु सार्वजनिक गरेको छ । मोटरसाइकल ठोकिएको स्थान र मोटरसाइकलको उचाई नमिल्नु, ठोकिएको स्थानमा कुनै दाग नदेखिनु, लासको पकृति हेर्दा कसैले सुताए जस्तो देखिनु, जुत्ता, मोबाईल र पछाडिको सिटको अवस्था हेर्दा सुनियोजित जस्तो देखिनु, मोटरसाइकल ठोक्किएको र लडेको अवस्था नमिल्नु छातीमा गहिरो चोट लागेको भनिएतापनि कपडामा कुनै घर्षण नदेखिनु, टाउको र छातीमा एकैपटक चोट लाग्नु र रातको ११ बजे मृतक यादवको मोबाईलमा शकास्पद फोन आउनु जस्ता आधारहरुले हत्या नै गरेको दावी माओवादी केन्द्रको छ ।

मृतक यादवको तिघ्रातर्फ पाइन्टमाथी बुटले हानेको जस्तो निसान र निलडाम देखिएको माओवादी मधेश प्रदेश संसदिय दलका नेता भारत साहले बताउनुभयो । पोष्टमार्टम रिपोर्टमा सग्लन चिकित्सकसँग उदृढ गर्दै माओवादी केन्द्रका सचिव लिलामणि पोखरेलले छातीमा ५० एमएल आन्तरिक रगत बगेको र टाउको, छातीमा एकैपटक चोट लाग्नु घटना दुर्घटना नभईकन शतप्रतिशत हत्या नै भएको दावी गर्नुभयो ।

श्रीमतीलाई आज घर ढिलो आउछु भनेर फोन गरेका मुकेश सँधैका लागि फर्किएनन

आईतबार राति आज घर ढिलो आउछु भनेर दिएको सुचना श्रीमती आईती यादव अहिले पनि झलझल्ती सम्झिरहनुहुन्छ । राति अवेरसम्म पनि श्रीमान नफर्किएपछि आइतीले दर्जनौ पटक फोन गर्नुभयो तर फोन उठेन । ‘रातको ११ बजे हुनुपर्छ संजिव झा की श्रीमतीले फोन गर्नुभयो र मुकेश आफ्ना श्रीमानसँग भएको बताउनुभयो । यादवले भन्नुभयो,‘त्यसपछि मैले मैले मुकेश जीलाई फोन गरिरहे तर फोन काटियो ।’

संजिव झाले सम्सिमा संगम होटल संचालन गर्दा मृतक मुकेशको परिचय भएको थियो । झाले उक्त होटलमा महिलाहरु बटुलेर देहव्यापार गरेको आरोपमा प्रहरीले ६ महिना अगाडी पक्राउ गरेको थियो भने होटल संचालनमासमेत प्रतिबन्ध लगाएको थियो । उनी जेलमा परेपछि पनि मुकेश पटक–पटक भेटन गएको र झालाई भर्खरै १६ लाख धरौटी तिरेर रिहा गराएका थिए । यो हत्या पनि यही पैसासँग जोडिएको हुन सक्ने मृतकका दाजु सतेन्द्र यादवले बताउनुभयो ।

१६ लाख मुकेशले खोजेर धरौटी बुझाएको रकम झासँग ताकेता गरेपछि उहाँहरुको दुरी केही समयदेखि टाढिएको परिवारले बताए । आईतवार राति पनि मुकेश संजिव झा, दिलिप मण्डल र तिन जना महिलाहरु बसेर बर्दिवास–८ स्थित राजु होटलमा खाजासमेत खाएको फेला परेको छ । खाजा खाएपछि महिला र दुई पुरुष बर्दिवासस्थित एमडी स्टार होटलमा आएको होटल संचालकले बताएका छन् । दूई महिला मध्ये एक महिला भने संगम होटलमा प्रहरीले छापा हान्दा आपत्तिजनक अवस्थामा पक्राउ परेकी थिइन ।

यी सवै पृष्ठभूमि हत्यासँग जोडिएको र योजनावद्व ढंगले हत्या गरिएको परिवार पक्षको दाबी छ । मृतक यादवको हक्की स्वभाव र प्रतिस्पर्धात्मक क्षमताका कारणले मृत्यु राजनीतिसँगसमेत जोडिएको हुन सक्ने आंकलन गरेका छन । घटनाको थप खोजविन गरेर सत्यतथ्य वाहिर ल्याउने पनि माओवादी केन्द्रले प्रतिवद्वता जनाएको छ । यसको लागि केन्द्र, प्रदेश र जिल्लामा प्रहरीहरुलाई तथ्यहरु दिएर अनुसन्धान अगाडी बढाउँन गम्भीर ध्यानाकर्षण गराएको इन्चार्ज खड्काले जानकारी दिनुभयो ।