म्याग्दी, भदौ १४ । म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहमा विद्युत आपूर्ति गर्न निर्माण भएको प्रसारण लाइन र सबस्टेशन अझै सञ्चालनमा आउन सकेको छैन ।
पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने २२ किलोमिटर दूरीको प्रसारण लाइन र रातोढुङ्गामा निर्माण भएको ३३÷११ केभी क्षमताको सबस्टेशन सञ्चालनमा ल्याउन ढिलाइ भएको हो ।
स्थानीयवासीले बिद्युत प्राधिकरणको नेतृत्वको कामतिर ध्यान नगएको परिणामको रुपमा यो सवस्टेशन निर्माणमा भइरहेको ढिलाईलाई लिएका छन । छ वर्षअघि नै सम्पन्न हुनुपर्ने सबस्टेशन र प्रसारण लाइन निर्माणमा भएको ढिलाइले म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने मङ्गला, मालिका र धवलागिरि गाउँपालिकामा केन्द्रीय प्रसारण लाइन विस्तार र विद्युत आपूर्ति प्रभावित भएको नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले बताउनुभयो ।
उहाँका अनुसार मिलनचोक सबस्टेशनका चारवटा फिडरबाट लामो दूरीमा विद्युत् आपूर्ति गराउँदा समस्या भएको छ । उहाँका अनुसार २० किलोमिटर दूरीसम्म एउटा सबस्टेशनबाट विद्युत् आपूर्ति गराउने मापदण्ड भए पनि ८० किलोमिटरसम्म वितरण गर्नुपर्दा नियमित विद्युत् आपूर्ति गराउन भएको समस्या हट्ने थियो ।
पोल गाड्ने, तार तान्ने, सबस्टेशनमा संरचना निर्माण र उपकरण जडानको काम सकिएपछि गत मङ्सिर–पुसमा प्रसारण लाइनको परीक्षण पनि गरिएको थियो । नेपाल विद्युत् प्राधिकरणमार्फत एटुजेड इन्जिनियरिङले सन् २०१६ मा ठेक्का लिएको सबस्टेशन र प्रसारण लाइन सन् २०१८ को डिसेम्बरमा सक्ने लक्ष्य थियो ।
सुरुआती चरणमा जग्गा अधिग्रहणमा भएको ढिलाइका कारण प्रभावित बनेको थियो । पोल गाड्ने र तार तान्ने क्रममा जग्गाधनीको अवरोधले रोकिएको आयोजनाको काम २०८० को जेठमा चार वर्षपछि सुरु भएको थियो । निर्माण कम्पनी एटुजेड इन्जिनियरिङका प्रतिनिधि पद्यसागर लुुइँटेलले छिट्टै नै प्रसारण लाइन र सबस्टेशन सञ्चालनमा ल्याउने तयारी गरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्