पोखरा, भदौ १६ । तीज संस्कृतिलाई पर्यटनसँग जोड्ने उद्देश्यका साथ यही भदौ २१ र २२ गते पोखराको लेकसाइडस्थित बाराहीघाटमा ‘तीज सांस्कृतिक महोत्सव–२०८१’ आयोजना हुने भएको छ ।
पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान) ले ‘दिगो पर्यटनका लागि समान सहभागिता’ मूल नारासहित हरितालिका तीज अवसरमा दोस्रो संस्करणको महोत्सव गर्न लागेको आयोजित पत्रकार सम्मेलनमा टेवानका अध्यक्ष कमला गिरीले जानकारी दिनुभयो ।
नेपालको प्राचीन संस्कार, संस्कृति, कला र धर्मलाई पर्यटनसँग जोड्ने उद्देश्यका साथ गत वर्षदेखि तीज सांस्कृतिक महोत्सव आयोजना गरिएको उल्लेख गर्दै अध्यक्ष गिरीले त्यसलाई यसवर्ष पनि निरन्तरता दिन लागेको बताउनुभयो ।
महोत्सवका अवसरमा सांस्कृतिक तीज गीत प्रतियोगिता, खेलकुद, पर्यटन सम्बन्धित बहसलगायतका कार्यक्रम हुने महासचिव अनिता खड्का भट्टराईले जानकारी दिनुुभयो । उहाँका अनुसार महोत्सवको पहिलो दिन बिहान १० बजे वाराहीचोकदेखि सांस्कृतिक झाँकीसहितको र्याली गर्दै वाराहीघाटस्थित नेपाल ट्रष्टको चौरमा महोत्सवको औपचारिक उद्घाटन गरिने छ ।
उक्त दिन साँस्कृतिक कार्यक्रम एवं तीज गीत प्रतियोगिता सुरु हुनेछ । त्यस्तै दोस्रो दिन खेलकुदका कार्यक्रमसँगै तीज सन्दर्भमा महिला सशक्तीकरण, पर्यटन तथा संस्कृति विषयमा समूहगत छलफल गरिनेछ । संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेत्री खुस्बु ओली र डा राजु अधिकारीबीच छलफल हुनेछ ।
प्रतियोगिताका लागि हालसम्म १६ वटा समूहले दर्ता गरिसकेको कार्यक्रम संयोजक शान्ता तिमिल्सिनाले जानकारी दिनुुभयो । पर्यटन प्रवद्र्धनसम्बन्धी र महिला उद्यमशीलता विषयमा प्रतियोगीले तीज गीत प्रस्तुत गर्नुपर्नेछ ।
प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुनेले क्रमशः ३० हजार, २० हजार, १५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै सान्त्वना हुने १० समूहलार्ई पाँच हजार रुपैयाँका दरले नगद र प्रमाणपत्र प्रदान गरिनेछ । उत्कृष्ट नृत्य र भेषभूषासहित झाँकी प्रदर्शन गर्नेलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।
पत्रकार सम्मेलनमा टेवानका सल्लाहकार वरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले पोखरालाई पर्यटनको राजधानी घोषणा गरेर मात्र नहुने बताउँदै सरकारले आवश्यक कार्ययोजना ल्याउनुपर्नेमा जोड दिनुुभयो ।
सल्लाहकार बोबरजङ्ग गुरुङले पदमार्गहरू हराउँदै गएकोमा चिन्ता व्यक्त गर्दै हालै सार्वजनिक गरिएको गुरुङ सम्पदा पदमार्ग एउटा महत्वपूर्ण विकल्प हुने धारणा राख्नुुभयो । पोखरा पर्यटन राजधानी घोषणा भैसकेका अवस्थामा अब यसको दायरालाई फराकिलो बनाउनु आवश्यक भएको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्