पोखरा, १७ भदौ । राजीव गुरुङ उर्फ दीपक मनाङेले गण्डकी प्रदेश सरकारमा वनमन्त्रीको पद अस्वीकार गर्नुभएको छ । आज एमालेलाई सरकारमा सहभागी गराउनेक्रमा मन्त्रिमन्डल हेरफेर गर्दा मनाङेलाई दिइएको थियो । यसअघि भौतिक योजना मन्त्रालय रहेका मनाङेले वन मन्त्रालय दिएकोप्रति असन्तुष्टि जनाउदै राजीनामा दिनुभएको हो ।
एमालेलाई सरकारमा सामेल गराउन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई वन मन्त्रालयमा पठाउनुभएको थियो तर उहाँले त्यसमा असन्तुष्टि जनाउँदै राजीनामा दिनुभएको हो । मनाङेले सम्हाल्दै आएको भौतिक मन्त्रालय एमालेका प्रकाशबहादुर केसीले पाउनुभएको छ ।
यसअघि एमालेले मनाङे र फणिन्द्र देवकोटालाई सरकारमा सामेल गराउन नहुने भन्दै सरकारमा जान आनाकानी गरिरहेको थियो । तर मुख्यमन्त्री पाण्डेले आइतबार दुई मन्त्रालय फुटाएर भागबन्डा मिलाउँदै एमालेलाई सरकारमा सामेल गराउने वातावरण मिलाएका थिए । मुख्यमन्त्री पाण्डेले मनाङे र देवकोटाले आफुलाई संकटमा साथ दिएको भन्दै काँग्रेसको कोटाको मन्त्री दिएर सरकारमा निरन्तरता दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्