जनता टाइम्स

२७ आश्विन २०७६, सोमबार १७:०६

वाह ! बढ्यो निर्यात, घट्यो आयात र ब्यापार घाटा


काठमाडौं, असोज २७ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वस्तु आयात घटेको छ । यी दुई महिनामा निर्यात व्यापारमा भने उल्लेख्य बृद्धि भएको तथ्यांकले देखाएको छ । भन्सार विभागको तथ्यांकअनुसार दुई महिना (साउन–भदौ) मा कूल २ खर्ब २९ अर्ब ५० करोड रुपैयाँ बराबरको आयात भएको छ । यो रकम अघिल्लो आर्थिक वर्ष २०७५/७६ को सोही अवधिको तुलनामा १.२२ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा २ खर्ब ३२ अर्ब ३४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

यस अवधिमा निर्यात व्यापारमा भने उल्लेख्य वृद्धि भएको भन्सार बिभागको तथ्यांकले देखाएको छ । बिभागका अनुसार चालु आर्थिक बर्षको दुई महिना (साउन–भदौं) मा १८ अर्ब ५० करोड १८ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २५.८७ प्रतिशतले बढी हो । भन्सार बिभागका अनुसार उक्त आर्थिक बर्षको दुई महिनामा १४ अर्ब ६९ करोड ९० लाख रुपैया बराबरको वस्तु निर्यात भएको थियो । भन्सार बिभागको तथ्यांक अनुसार आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालको व्यापार घाटासमेत सच्चिन थालेको संकेत देखिएको छ । यस अवधिमा कूल व्यापार घाटा २ खर्ब ११ अर्ब १८ लाख रुपैयाँ बराबरको रहेको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा दुई महिनामा व्यापार घाटा ३.०५ प्रतिशतले कम भएको हो । उक्त आवको सोही अवधिमा २ खर्ब १७ अर्ब ६४ करोड रुपैयाँ बराबरको व्यापार घाटा थियो । यस वर्ष क्रमशः निर्यात वृद्धि र आयातमा भएको संकुचनले व्यापार घाटा न्यूनिकरणको संकेत देखिएको हो । दुई महिनाको अवधिमा कूल वैदेशिक व्यापार भने २ खर्ब ४८ अर्ब ५५ लाख रुपैयाँ बराबरको भएको छ । नेपालको कूल वैदेशिक व्यापारमा निर्यातको हिस्सामा समेत देखिने गरी वृद्धि भएको छ । तथ्यांक अनुसार यस वर्ष दुई महिनाको अवधिमा कूल वैदेशिक व्यापारमा निर्याको हिस्सा ७.५ प्रतिशत रहँदा आयातको हिस्सा ९२.५ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको तुलनामा निर्यातको हिस्सामा २५.३८ प्रतिशतको वृद्धि देखिएको छ । अघिल्लो आवमा निर्यातको हिस्सा मात्र ५.९ प्रतिशत रहँदा आयातको हिस्सा ९४.१ प्रतिशत रहेको थियो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आत्मनिर्भर अर्थतन्त्रको पक्षमा चालेको कदमको परिणामका रुपमा आयात घटनु र निर्यात बढेको हो । प्रधानमन्त्री ओली र अर्थमन्त्री डा. युवराज खतिवडाले सुरुदेखि नै आयात कम र निर्यात बढी हुने गरी योजनावद्ध रुपमा काम अघि बढाउनु भएको थियो । यसैको परिणाम यो दुई महिनामा देखिएको हो ।