जनता टाइम्स

२१ भाद्र २०८१, शुक्रबार १६:२९

सौर्य एयरलाइन्स जहाज दुर्घटना छानविन : छानविन प्रतिवेदनले देखायो २ कारणसहित एअरलाइन्सको गम्भीर त्रुटी


काठमाडौं, भदौ २१ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत साउन ९ गते भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटना जाँच आयोगले प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ ।

छानविन आयोगको प्रारम्भिक प्रतिवेदनअनुसार दुर्घटनाको एक सम्भावित कारणमा अपरेटर (सौर्य एयरलाइन्स) ले अपरेसन र ग्राउन्ड ह्यान्डलिङ म्यानुअल अनुसार जहाजमा सामान राख्नुपर्नेमा त्यसको पालना नगरेको पाइएको छ ।

यस्तो म्यानुअल नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत गराउनुपर्छ । सौर्यसँग त्यस्तो म्यानुअल भए पनि त्यसको पालना नभएको देखिएको प्रतिवेदनले औल्याएको हो । उक्त म्यानुअलमा सामान जोख्ने, त्यसलाई लोड गर्ने र जहाजभित्र कसरी सुरक्षित राख्ने भन्ने उल्लेख हुन्छ । यसको परिपालना नभएको प्रारम्भिक प्रतिवेदनले देखाएको छ ।

यसैगरी ‘भी स्पिड’ को परीक्षणबिनै जहाज उडाएको देखिएको छ । जहाजले कार्गोसहित लोड बोकेर उड्दा बाहिरको तापक्रम, विमानस्थलको उचाइ, लोडसहित आधारमा टेकअफका बेला लिने गतिको क्याल्कुलेसन गर्ने गरिन्छ । जसलाई ‘भी–स्पीड’ भनिन्छ । यो उडानका बेला यस्तो क्याल्कुलेसन नगरी जहाजले टेकअफ लिएको देखिएको जाँचबुझ आयोगको प्रारम्भिक प्रतिवेदनले औंल्याएको छ ।

यसलाई समेत आयोगले दुर्घटनाको दोस्रो सम्भावित कारण भनेको छ । यस्तो विधि उल्लेख भएको ‘क्विक रिफरेन्स ह्यान्डबुक’ पाइलटसँग हुने गर्छ । जाँच आयोगले प्राधिकरणबाट मर्मतका लागि दिने (फेरी फ्लाइट) अनुमतिमा उल्लेख नियमहरूको पूर्णपालना हुन नसकेको समेत उल्लेख गरेको छ ।

यसैगरी आयोगको प्रारम्भिक प्रतिवेदनमा वायुसेवा कम्पनीहरूले फेरी फ्लाइटमा गर्ने लापरबाहीतर्फ संकेत गरिएको छ । यसमा नागरिक उड्डयन प्राधिकरणले आँखा चिम्लिरहेको समेत देखिन्छ । अबको जाँच सोहीतर्फ उन्मुख हुने समेत प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।

सौर्यको कलसाइन ‘९ एन–एनएमई’ भएको ‘सीआरजे–२००’ सिरिजको जहाज टेकअफ गर्नासाथ त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको थियो । दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो । दुर्घटनामा परेका क्याप्टेन मनिषरत्न शाक्यलाई भने जीवितै उद्धार गरिएको थियो ।

जहाज उडेको २० सेकेन्डमै दाहिनेतर्फ कोल्टिँदै भुइँमा बजारिएको थियो । धेरै यात्रुको सोही क्रममा ज्यान गएको समेत प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । दुर्घटनाको १ मिनेट ४० सेकेन्डमा दमकल घटनास्थल पुगेको समेत प्रतिवेदनले देखाएको छ ।  अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को नियमानुसार ठूला जहाज दुर्घटना जाँच गर्दा प्रारम्भिक निष्कर्ष सार्वजनिक गर्ने गर्नुपर्छ ।

यस्तै आयोगको प्रतिवेदनले सबै वायुसेवा कम्पनीलाई कार्गो उडान सम्बन्धी म्यानुअल पालना गर्न सुझाव दिएको छ । ननसेडुल फ्लाइट र फेरी फ्लाइटका नियमहरूको नियमन दुरुस्त बनाउन र नियम समेत रिभ्यु गर्न नेपाल नागरिक उड्डययन प्राधिकरणलाई सुझाव दिएको छ ।