जनता टाइम्स

२१ भाद्र २०८१, शुक्रबार १६:४२

सच्चियो प्रचण्ड सरकारको निर्णय, हट्यो टिकटकमाथिको प्रतिबन्ध


काठमाडौं, भदौ २१ । नेपाल दूरसञ्चार प्राधिकरणले सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई टिकटक माथि नेपालभर लगाइएको प्रतिबन्ध हटाउन निर्देशन दिएको छ ।

प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै भदौ ६ गतेको मन्त्रिपरिषद बैठकले गरेको निर्णयअनुसार टिकटकमाथि लगाइएको रोक हटाउन निर्देशन दिएको हो ।

प्राधिकरणले सूचना जारी गर्दै भनेको छ, ‘नेपाल सरकार, मन्त्रिपरिषद्को २०८१/०५/०६ गतेको बैठकबाट सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकको प्रयोगमा लगाइएको रोक हटाउने निर्णय भएको हुँदा अर्को निर्णय नहुँदासम्मको लागि टिकटकमा लगाइएको रोक हटाउन दूरसञ्चार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी सम्बन्धित सबै इन्टरनेट सेवा प्रदायकहरु र मोबाइल सेवा प्रदायकहरुलाई प्राधिकरणबाट निर्देशन जारी गरिएको छ ।’

सरकारले शर्तसहित टिकटक प्रतिबन्ध हटाउने निर्णय गरेपटि टिकटकका प्रतिनिधिहरु काठमाडौं आएका थिए । उनीहरुले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरकारले राखेका शर्तहरुबारे छलफल गरेर सबै सर्ब शर्त मान्न तयार रहेको बताएका थिए । टिकटकका प्रतिनिधिले सरकारले राखेको शर्त मानेपछि आजबाट प्रतिबन्ध हटेको हो ।