जनता टाइम्स

२८ आश्विन २०७६, मंगलबार ००:००

रुकुमपूर्वमा हेलिकप्टरबाट महिलाको उद्धार


रुकुम, असोज २८ ।  मृत शिशुलाई जन्म दिएर थला पर्नुभएकी रुकुमपूर्व पुथा उत्तरगङ्गा गाउँपालिका–१ मैकोटकी ३१ वर्षीया सरलमाया पुनको उद्धार गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय रुकुमपूर्व र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहकार्यमा हेलिकप्टरबाट मंगलवार पोखरा पठाइएको प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले बताउनुभयो ।

यही असोज १७ गते स्वास्थ्यचौकी मैकोटमा मृत शिशुको जन्म दिएपछि उहाँको स्वास्थ्य अवस्था बिग्रँदै गएको थियो । स्वास्थ्यकर्मीले विशेषज्ञ डाक्टरकहाँ गएर औषधोपचार गर्न सल्लाह दिए पनि परिवारको लापरवाहीका कारण उहाँ घरमै बसिरहनुभएको थियो । १७ गतेदेखि बिरामी पर्नुभएकी पुन आज बिहान अचेत अवस्थामा पुगेपछि हेलिकप्टरबाट उद्धार उपचारका लागि पोखरा पठाइएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो ।