जनता टाइम्स

२३ भाद्र २०८१, आईतवार १०:३०

सबैको योगदानले साक्षर नेपालको अभियानलाई सार्थक बनाउन सक्छौं : प्रधानमन्त्री अ‍ोली


काठमाडौं, भदौ २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पूर्ण साक्षर मुलुकतर्फ अग्रसर हुँदै समृद्ध नेपाल : सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने गन्तव्यमा अघि बढिरहेको जानकारी दिनुभएको छ ।

५८औं अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आइतबार शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस्तो जानकारी गराउनु भएको हो । उहाँले नेपाल पूर्ण साक्षर देशतर्फ अग्रसर हुँदै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने गन्तव्यमा लम्किरहेको उल्लेख गर्नुभएको छ । यस गन्तव्य प्राप्तिमा शिक्षा क्षेत्रको योगदान महत्त्वपूर्ण हुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसअनुसारको भूमिका निर्वाह गर्न सबैमा आह्वान गर्नुभएको छ ।

सबैको योगदानले साक्षर नेपालको अभियानलाई सार्थक बनाउन सकिने उहाँले उल्लेख गर्नुभएको छ । प्रधामन्त्री ओलीले लेख्नुभएको छ, ‘शिक्षालाई रोजगार र स्वरोजगारसँग जोड्दै निजी क्षेत्र, सामाजिक संघसंस्थालगायत सबैको भूमिकालाई प्रभावकारी बनाउँदै निरक्षरतालाई साक्षरतामा रुपान्तरण गर्न हामी सबै लाग्नुपर्ने छ । हामी सबैको योगदानले साक्षर नेपालको अभियानलाई सार्थक बनाउन सक्छौं ।’

नेपालमा पछिल्लो समयमा पूर्ण साक्षर पालिका र साक्षर जिल्ला घोषणा हुँदै जानु महत्त्वपूर्ण उपलब्धि भएको उहाँको ठहर छ । प्रधानमन्त्री ओलीले विद्यालय उमेरका सबै बालबालिकालाई गुणस्तरीय शिक्षा र विद्यालय उमेर नाघेका नागरिकका निमित्त जीवनोपयोगी शिक्षाको अवसर जुटाउने विषय सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्नुभएको छ ।

गुणस्तरीय र जीवनोपयोगी शिक्षाका लागि अनिवार्य तथा निःशुल्क शिक्षा पाउने मौलिक हकको सुनिश्चितता गरिने प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको छ । उहाँले लेख्नुभएको छ, ‘यसका निम्ति अनिवार्य र निःशुल्क शिक्षा ऐन, २०७५ को कार्यान्वयनसँगै साक्षरता-आजीवन सिकाइका कार्यक्रमहरु सञ्चालनमा रहेका छन्, साक्षरताका कार्यक्रमको सञ्चालनमा स्थानीय तहको भूमिका महत्वपूर्ण हुन्छ, गरिबीका कारणले तराई र दुर्गमका कतिपय ठाउँमा साक्षरता र भर्ना अभियानले सार्थकता पाउन नसकेको अवस्थालाई द‍ृष्टिगत गरी मेरो नेतृत्वको अघिल्लो सरकारले राष्ट्रव्यापी रुपमा विद्यार्थी भर्ना अभियान कार्यक्रमको सुरुआत गरेको थियो ।’

गरिबीका कारणले तराई र दुर्गमका कतिपय ठाउँमा साक्षरता र भर्ना अभियानले सार्थकता पाउन नसकेको अवस्थालाई द‍ृष्टिगत गरी आफू नेतृत्वको अघिल्लो सरकारले राष्ट्रव्यापी रूपमा विद्यार्थी भर्ना अभियान कार्यक्रमको सुरुआत गरेको प्रधानमन्त्री ओलीले स्मरण गर्नुभएको छ ।

उहाँले विद्यालय जाने उमेरका सबै बालबालिकालाई अनिवार्य रूपमा विद्यालयमा भर्ना गर्ने नीतिले पनि साक्षरताको अभियानलाई सहयोग पुर्‍याएको बताउनुभयो । बालबालिकालाई विद्यालयबाट ुड्रपआउटु हुन नदिन सरकारले दिवाखाजा, छात्रवृत्तिलगायत अन्य प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेको र यसलाई अझै सुधार गर्दै लैजाने सरकारको योजना रहेको उहाँले स्पष्ट पार्नुभएको छ ।

विश्व अहिले सूचना प्रविधिको युगमा प्रवेश गरेको छ उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसकारण पनि प्रविधिमैत्री साक्षरता र सीप अहिलेको आवश्यकता भएको उल्लेख गर्नुभएको छ । प्रविधिमैत्री शिक्षा प्रदान गर्न सरकारले योजनाबद्ध रुपमा कार्य अगाडि बढाइरहेको उहाँले उल्लेख गर्नुभएको छ ।

साक्षरता दिवसले शान्ति, सहिष्णुता, बहुभाषिक शिक्षा र आपसी समझदारीका साथ अगाडि बढ्न प्रेरणा प्रदान गर्ने विश्वास पनि प्रधानमन्त्री ओलीको छ ।