जनता टाइम्स

२४ भाद्र २०८१, सोमबार २३:१७

सत्तारुढ दलको बैठकमा जुट्यो संबिधान संशोधनदेखि सरकार र संसदलाई प्रभावकारी बनाउने ठोश सहमति


काठमाडौं, भदौ २४ । सत्ता साझेदार दलहरुले सरकार र संसदको कामलाई प्रभावकारी बनाउन एकढिक्का भएर उभिने निष्कर्ष निकालेका छन । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको सत्तारुढ दलहरुको बैठकले सरकारको पक्षमा एकढिक्का भएर उभिने निष्कर्ष निकालेका हुन ।

‘आज सत्तापक्षीय दलहरुको बैठक बालुवाटारमा सम्पन्न भएको छ । बैठक संसद र सरकारको कामलाई प्रभावकारी बनाउने विषयमा केन्द्रीत थियो । बैठकले संविधान संशोधनको विषयलाई संविधानको स्विकार्यता वृद्धि गर्नेगरी सहमतिका साथ अघि वढाउने कुरामा जोड दिएको छ । लोकतान्त्रिक पद्धतिलाई कमजोर हुन नदिन सत्तापक्षिय पार्टीका बीचमा स्थानियस्तरमा समेत सहकार्य आवश्यक रहेको कुरामा जोड दिइएको छ,’ महासचिव पोखरेलले भन्नुभयो ।

कांग्रेसका प्रमुख सचेतक घिमिरेले सत्तारुढ दलहरु एकढिक्का बनेर सवै समस्याको निकास खोज्ने सहमति बैठकमा बनेको जानकारी दिनुभयो । ‘सरकारको पक्षमा दलहरु एकढिक्का भएर उभिने निष्कर्षमा पुगेका छौ’, बैठकपछि कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले भन्नुभयो । उहाँका अनुसार सत्ता साझेदार दलहरु एकढिक्का भएर उभिनकै निम्ति न्यूनतम साझा कार्यक्रम तयार पार्ने गृहकार्य सुरु भएको छ ।

‘एमाले र हाम्रो बीचमा सात बुँदे भइसकेकै थियो । तर त्यही सात बुँदेलाई आधार मानेर न्यूनतम साझा कार्यक्रम बनाउँछौं । यसले सबैलाई एकढिक्का उभ्याउँछ’, घिमिरेले भन्नुभयो । आइतबार साँझ कांग्रेस र एमालेका नेताहरुको बैठकबाटै न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदल गठन भइसकेको छ । कांग्रेस महामन्त्री गगन थापा र प्रवक्ता प्रकाशशरण महत, एमालेका उपमहासचिवद्वय प्रदीपकुमार ज्ञवाली र विष्णु रिमाल सदस्य रहेको मस्यौदा समिति गठन भएको हो ।

कार्यदल गठन भएको भोलिपल्ट, सोमवार बसेको बैठकले साझा निश्कर्ष निकालेको हो । बैठकमा प्रधानमन्त्री कपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भूमिकाप्रति असन्तुष्टि जनाउँदै उत्तेजनाको राजनीति गरेको बताउनु भएको छ । सत्य निरुपणसम्बन्धी विधेयक पास भएपछि आयोग गठनका लागि सहमति खोज्नुपर्ने बेला प्रचण्डले उत्तेजनाको राजनीति गर्न खोजेको प्रधानमन्त्री ओलीको भनाई रहेको बैठकमा सहभागी एक सदस्यले बताए ।