जनता टाइम्स

२६ भाद्र २०८१, बुधबार ०२:४५

काठमाडौंसहित ५ जिल्लाका सिडिओ र अध्यागमन महानिर्देशकको सरुवा, को कहाँ पुगे ?


काठमाडौं, भदौ २६ । सरकारले संघीय राजधानी काठमाडौंसहित आधा दर्जन जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकले मंगलवार मन्त्रीस्तरीय निर्णय गरी काठमाडौंसहित आधा दर्जन जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गर्नुभएको हो ।

गृहमन्त्रीको निर्णयअनुसार काठमाडौंमा जयनारायण आचार्यलाई पठाइएको छ । कारागार व्यवस्थापन विभागमा महानिर्देशक आचार्यलाई काठमाडौं सरुवा गरी काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई गृह मन्त्रालय तानिएको छ ।

यस्तै गृह मन्त्रालयमा अतिरिक्त समूहमा रहनुभएका सहसचिव लीलाप्रसाद शर्मालाई सिन्धुलीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ भने मन्त्रालयको अतिरिक्त समूहमा रहनुभएका सहसचिव डा. टोकराज पाण्डेलाई मन्त्रालयमा जिम्मेवारी दिइने निर्णय भएको छ ।

यस्तै अध्यागमन कार्यालय भैरहवाका प्रमुख अध्यागमन अधिकृत किरण थापालाई सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा पठाइएको छ भने मन्त्रालयका उपसचिव रमा आचार्यलाई प्युठानको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । प्युठानका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद अर्याललाई मन्त्रालयमा तानिएको छ ।

यस्तै इलाका प्रशासन कार्यालय चन्द्रौटा कपिलवस्तुका प्रमुख बाबुलाल अर्याललाई अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ भने अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यालाई इलाका प्रशासन कार्यालय चन्द्रौटाको प्रमुखमा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।