जनता टाइम्स

२६ भाद्र २०८१, बुधबार १८:३८

कोशीको संसदीय समितिको नेतृत्वमा कांग्रेस–एमालेबीच जुट्यो सहमति


विराटनगर, भदौ २६ । कोशी प्रदेशसभाको संसदीय समितिको नेतृत्वको भागबण्डा टुङ्गो लागेको छ । सात वटा संसदीय समिति रहेको कोशीमा आज प्रमुख दलहरुबीच सभापतिको भागबण्डा टुंगिएको हो ।

कोशी प्रदेशसभामा शुक्रबार सभापति छनोट गर्ने कार्यसूची रहेको छ । नेतृत्व चयनको दुई दिनअघि कांग्रेस र एमालेले आज सात वटा समितिको सभापतिमा भागबण्डा टुंगो लगाएका हुन ।

नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार सातमध्ये कांग्रेस र एमालेले तीन–तीन वटा समितिको नेतृत्व लिने सहमति भएको छ भने नेकपा माओवादीलाई एउटा समिति सभापति दिइने छ ।

कोशी प्रदेश सभामा न्याय प्रशासन तथा विधायन समिति, सुशासन तथा योजना समिति, अर्थ समिति, सार्वजनिक लेखा समिति, सामाजिक विकास समिति, उद्योग पर्यटन तथा वातावरण समिति र प्राकृतिक स्रोत तथा पूर्वाधार समिति छन् ।

भण्डारीका अनुसार एमालेले उद्योग पर्यटन तथा वातावरण समिति, प्राकृतिक स्रोत तथा पूर्वाधार समिति र न्याय प्रशासन तथा विधायन समितिको नेतृत्व लिनेछ । यस्तै कांग्रेसले सुशासन तथा योजना समिति, अर्थ समिति, र सामाजिक विकास समितिको सभापतिको नेतृत्व लिने सहमति छ । माओवादी केन्द्रले सार्वजनिक लेखा समितिको सभापति पाउनेछ ।

प्रदेशमा माओवादी केन्द्र २, राप्रपा र एकीकृत समाजवादी पार्टीले पनि १–१ समितिको नेतृत्वमा दाबी गरेका थिए । तर सत्तारुढ दुई दलले आन्तरिक भागबण्डा मिलाउने भन्दै साना दललाई सभापति दिन नसकिने बताएका छन ।

२०७९ मंसिर ४ गतेको निर्वाचनपछि प्रदेश सभाको पहिलो बैठक २०७९ पुस १७ गते बसेको थियो । २०८० कात्तिक २० गते संसदीय समिति सदस्य छानिएका थिए । सभापति भने बाँकी थियो । सभापतिको छनोटका लागि भदौ २८ गते निर्वाचन हुनेछ । प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यसूची अनुसार बिहीबार उम्मेदवारको मनोनयन दर्ता हुनेछ ।