जनता टाइम्स

२६ भाद्र २०८१, बुधबार १९:०२

इजरायलमा पक्राउ परिन पूर्वराजदूत कान्ता रिजालले लगेकी घरेलु श्रमिक


काठमाडौं, भदौ २६ । इजरायलका लागि पूर्वराजदूत कान्ता रिजालले लैजानु भएको घरेलु श्रमिक महिलालाई इजरायलमा पक्राउ परेकी छन ।

पक्राउ गरेलगत्तै इजरायलको आन्तरिक मन्त्रालयले ती घरेलु श्रमिकलाई ३० दिनभित्र डिपोर्ट गर्ने निर्णय गरेको छ । जसअनुसार उनलाई स्वदेश पठाउन डिपोर्टटेसन सेन्टरमा राखिएको छ ।

ती श्रमिकलाई प्रहरीले उनी काम गर्ने ठाँउबाट बासस्थान जानेक्रममा गत बिहीबार नियन्त्रणमा लिएको थियो । नेपाली दूतावासले उनलाई नेपाल पठाउने मिति निश्चित भइनसकेको जनाएको छ । इजरायलका लागि नेपाली कार्यवाहक राजदूत कुमारबहादुर श्रेष्ठले ती घरेलु श्रमिकलाई छिटोभन्दा छिटो पठाउने तयारी भइरहेको बताउनु भयो ।

तेलअबिवस्थित नेपाली दूतावासले ती घरेलु श्रमिकलाई स्वदेश पठाउनको लागि जारी गरिएको ट्राभल डकुमेन्ट प्रहरीलाई दिइएको छ । उनी सात महिनाअगाडि पूर्वराजदूत रिजालको निवासमा काम गर्न इजरायल पुगेकी थिइन् ।

पूर्ववर्ती सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले राजनीतिक कोटामा नियुक्त राजदूतहरूलाई फिर्ता बोलाउने क्रममा काँग्रेसको कोटामा राजदूत हुनुभएकी रिजालले गत असार ३१ गते इजरायल छाडनु भएको थियो ।

रिजाल पुनः कांग्रेसकै कोटामा अष्ट्रेलियाको लागि राजदूतमा पुनः सिफारीस भएपछि आफूसँगै लगेको कामदार भगाएको कुरा बाहिर आएको थियो । घरेलु श्रमिक छाडेको आरोप लागेपछि परराष्ट्र मन्त्रालयले संसदीय सुनुवाई समितिमा सुनुवाईको लागि रिजालको नाम काटेको थियो ।

परराष्ट्रले घरेलु श्रमिक इजरालयमा पक्राउ परेको तीनदिनपछि आइतबार अष्ट्रेलियाको लागि नेपाली राजदूतमा कांग्रेस नेतृ चित्रलेखा यादवलाई सिफारिस गरेको छ । कांग्रेस नेतृ यादव पूर्व उपसभामुख हुनुहुन्छ ।