जनता टाइम्स

२६ भाद्र २०८१, बुधबार २२:५३

कोशीका पूर्वमुख्यमन्त्री केदार कार्कीले तोडे आमरण अनसन


विराटनगर, भदौ २६ । आमरण अनशनमा बस्नुभएका कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले अनशन तोडनुभएको छ ।

नेपाली काँग्रेस कोशी प्रदेश सभापति तथा संसदीय दलका नेता उद्धव थापा, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला लगायतका नेताहरूको पहलमा पूर्वमुख्यमन्त्री कार्कीले आमरण अनशन तोडनुभएको हो ।

मुख्यमन्त्री हिक्तम कार्कीले पूर्वमुख्यमन्त्री कार्कीका मागका विषयमा थापा र कोइरालासँग छलफल गर्नुभएको थियो । दिनभरि भएको छलफलमा पूर्वमुख्यमन्त्री कार्कीले राख्नुभएको मागहरू बजेटले सम्बोधन गरेको मुख्यमन्त्री कार्कीले आश्वस्त पार्नुभएको थियो ।

पूर्व मुख्यमन्त्रीका मागहरूका सम्बोधन हुने, सम्बोधन नभए काँग्रेस सत्ता साझेदार भएकाले सम्बोधन गर्ने आश्वासन थापाले दिनुभएको छ । यस्तै प्रदेश सरकारका मन्त्रीहरू राम राना र लिलाबल्लव अधिकारीले समेत माग सम्बोधन भएको र नभएको भए सम्बोधन गरेर जाने बताएपछि कार्कीले अनशन तोडनुभएको हो ।