जनता टाइम्स

२७ भाद्र २०८१, बिहीबार १५:२४

नीजि क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने विषयमा सैद्धान्तिक रुपले स्पष्ट हुन जरुरी : गृहमन्त्री लेखक


काठमाडौं, २७ भदौ । गृहमन्त्री रमेश लेखकले नीजि क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने विषयमा समिति राज्य व्यवस्था तथा सुशासन समिति सैद्धान्तिक रुपले स्पष्ट हुन जरुरी रहेको बताउनुभएको छ । आज सिंहदरबारस्थित प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासनको बैठकमा बोल्दै गृहमन्त्री लेखकले निजी क्षेत्रमा प्रवेश गर्ने वा नगर्ने ? भन्ने विषयमा स्पष्ट हुन समितिमा अझ बढी छलफल हुनुपर्नेमा जोड दिनुभयो ।

‘नीजि क्षेत्रमा अख्तियारको क्षेत्राधिकार जाने की नजाने, जाने हो भने कतिसम्म जाने ? भन्ने कुरामा स्पष्टता भयो भने लेख्ने कुरामा गाह्रो हुन्न ।’ लेखकले भन्नुभयो,‘पहिले त प्रिन्सिपल सेट हुनु पर्यो, प्रिन्सिपल सेट भए सोही अनुसार भाषा लख्ने हो । भाषा लेख्ने कुरा कठिनाई होइन ।’ उहाँले छलफलका क्रममा नीजि क्षेत्रमा जानु हुन्न भन्ने कुरामा आम सहमती देखिएको बताउनुभयो । ‘अझै एउटा कुरा टुंगिन बाँकी रहेको जस्तो के देखियो भने, सरकारी पैसा नीजिमा गएको छ भने फेरी हेर्नुपर्छ है भन्ने पनि विषय छ ।’

उहाँले भन्नुभयो,‘सरकारी पैसामा निजीमा गएकोमा कस्तो गएको ऋण गएको की अनुदान गएौको अथावा जाने प्रक्रियालाई समात्ने हो की ? जुन सरकारी पैसा गएको छ त्यो हकसम्म मात्रै हेर्ने हो की । उसको आफ्नो पनि हेर्ने हो की ? यो कुरामा समिति पहिले सिद्धान्तः स्पष्ट होस ।’ उहाँले नीजिमा प्रवेश गर्दा कति गर्ने भन्ने कुरामा पनि समिति सैद्धान्तिक रुपले स्पष्ट हुनुपर्नेमा जोड दिनुभयो । निजी क्षेत्रलाई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानको दायरामा ल्याउने प्रावधानमाथि समितिमा सांसदहरुले छलफल सुरु गर्नुभएको छ ।