काठमाडौं, असोज २ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रको पछौटेपन हटाउन सरकार क्रियाशील रहेको बताउनु भएको छ ।
राष्ट्रिय शिक्षा दिवस २०८१ मूल समारोह समितिको कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई कुरा गरेर बस्ने समय नभएकोले काममा लागेको बताउनु भयो ।
‘हामीसँग कुरा मात्रै गरेर बस्ने समय छैन, काम गर्नुपर्नेछ । शिक्षा, ज्ञान, तप, योग, सभ्यता, संस्कृति रहेको यस भूमिको शिक्षा अब पछाडि परिरहन सक्दैन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
उहाँले नेपालको शिक्षा जति अगाडि बढ्नुपर्ने थियो, त्यति अघि बढ्न नसकेको तथ्य पनि औंल्याउनु भयो । देशमा गणतन्त्र आइसकेकोले शिक्षालाई पछाडि पर्न नदिनु सबैको दायित्व भएको पनि प्रधानमन्त्री ओलीले प्रष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले उच्चशिक्षा, विद्यालय तह र सामाजिक क्षेत्रमा उत्कृष्टता हासिल गर्ने क्याम्पस, विद्यालय र संस्थालाई पुरस्कार वितरण गर्नुभएको थियो । ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता स् साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने आदर्श वाक्यका साथ आज देशभर शिक्षा दिवस मनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्