जनता टाइम्स

३ आश्विन २०८१, बिहीबार १३:०७

पुर्व–पश्चिम राजमार्ग अन्तर्गत बर्दिवास खण्डको सडकपेटी विचौलियाको कब्जामा


महोत्तरी, ३ असोज । मधेश प्रदेशको व्यस्त सडक मानिएको पुर्व–पश्चिम राजमार्ग अन्तर्गत बर्दिवास सडक खण्डमा ठेलागाँडा मजदुरहरुसगँ पैसा असुल गरेर सडक जाम गराउने गरेको खुलासा भएको छ । जनही ३ सयदेखि ९ सयसम्म पैसा अशुल गरेर सडकपेटीलाई कमाउने धन्दा बनाउने गरेको तथ्य वाहिरिएपछी बर्दिवास नगर क्षेत्रमा सडकको थप अस्तव्यस्तताको कारक खुलासा भएको हो । सडक किनारामा राखिएका ठेलागाँडा पशलहरुले ९ सय रुपैयाँ दिने गरेको स्विकार गरेका छन ।

‘म जहिल्यै ढल्केवरवाट ठेलामा सामन ल्याएर यहाँ वेच्ने गर्छु ।’ दिपक भनिने एक ठेलाव्यापारीले भन्नुभयो,‘पैसा दिएपछि खासै समस्या पनि हुँदैन त्यसैले अन्य साथीहरु पनि बाहिरबाट यहाँ नै आउनुहुन्छ ।’

अन्य ठाउँमा सामान लिएर जाँदा व्यापार नहुने र बर्दिवासका सडक किनारामा राख्दा भनेजस्तो व्यापार चल्ने हुँदा खुसीले नै उक्त पैसा दिने गरेको उनिहरुले बताएका छन् । सडकपेटीहरु अस्तव्यस्त भएको व्यापक जनगुनासो बढीरहेको भन्दै बर्दिवास नगरपालिकाले बिहान–बेलुका केही कर्मचारी र नगर प्रहरी समेत खटाउने गरेको छ । तर यसका बाबजुत पनि सडकको दुरावस्था यथावत रहिरहेको बेला ठेलागाँडाहरुसगँ पैसा उठाएर संरक्षण गरिएको तथ्यले आम मानिसहरुलाई झस्काएको छ ।

कस्लाई दिन्छन पैसा ?

ठेला व्यापारीहरुले पैसा उठाएर दिनेश भनिने अर्को व्यापारीलाई दिने र उन्कै माध्यमवाट पैसा समबन्धित ठाउँमा पुग्ने गरेको पाईएको छ । यता दिनेशले उक्त पैसा संकलन गरेको स्विकार गर्नुभएको छ । बजारको ठेक्का पाएका विजय महतोको निर्देशनमा उक्त पैसा अशुल गरेको उहाँले बताउनुभयो । ‘मैले पैसा संकलन गरेको नै हौ । तर त्यो पैसा विजय महतोलाई दिने गरेको छु ।’ उहाँले भन्नुभयो,‘यति भएपछि याँहा नै राखेर निर्वाधरुपमा व्यापार गर्न पाईन्छ ।’

ठेलाको लागि औरही सडक खण्डमा ठाउँ निर्धारण गरेतापनी त्याँहा व्यापार नहुने गरेको उनिहरुको भनाई छ । मुख्य राजमार्गको छेउछाउमा भनेजस्तो व्यापार हुने भएकाले उक्त पैसा दिन वाध्य भएको आधा दर्जन ठेला व्यापारीहरुको हामिलाई अडियो रेकर्ड समेत प्राप्त भएको छ । बजारको ठेक्का पाएका विजय महतोले पनि पैसा आफुलाई ठेलागाँडावालाहरुले मनखुसीले दिएको र उक्त पैसा लिएको स्विकार गर्नुभयो । ‘मलाई माछामासु खानु भनेर उहाँहरुले नै दिनुभएको हो । मैले मागेको हैन ।’ उहाँले भन्नुभयो,‘यसमा नगरपालिकाका कर्मचारीहरुको कुनै हात छैन ।’

तर सडक पेटीमा अनाधिकृतरुपमा ठेला तथा अन्य पशलहरु राखेर सडक अस्तव्यस्त बनाउनेहरुलाई हटाउने जिम्मेवारी लिएका उनिहरुले ठेलागाडाहरुलाई किन हटाएनन भन्ने गम्भीर प्रश्न बनेको छ । ‘विजय महतोको माध्यमवाट सवै विषय बाहिर आउन सक्छ ।’ स्थानिय व्यवसायी गुन्ज कार्कीले भन्नुभयो । ‘जिम्मेवारी लिएर हरेक क्षेत्रलाई गरिखाने भाडो वनाउने जोकोहीलाई कडा कारवाही गर्नुपर्छ ।’

कर तिरेर व्यापार गर्ने व्यापारीहरुको मर्म विपरित गरिएको कार्य दुःखद छ : उद्योग बाणिज्य संघ

कर तिरेर औपचारिकरुपमा व्यापार गर्नेहरुको मर्म विपरित सडकपेटीलाई निजि सम्पत्ती बनाएका जोकोहीलाई कानुनी दायरामा ल्याउनुपर्ने उधोग बाणिज्य संघका अध्यक्ष बिष्णु खडकाले बताउनुभयो । नगरपालिकाको संरक्षण देखिनेगरी ठेलागाँडा व्यापारीहरुसगँ पैसा असुल्नु दुःखद भएको वताउदै खडका दुर्घटनाको कारक एकातिर वन्ने र अर्कोतिर स्थानिय व्यापारीहरु उपेक्षामा परेको बताउछन् ।

‘विजय महतो भन्ने व्यक्तिले कस्को निर्देशनमा ठेलागाँडा त्याँहा राख्न दिए भन्ने बिषय महत्त्वपूर्ण हो ।’ अध्यक्ष खडकाले भन्नुभयो । ‘यदि उनी आफैले त्यो वातावरण सिर्जना गरेका हुन भने कुन कानुनमा आधारित भएर गरेका हुन त ?’

ठेला गाँडामा राखिएका पशलहरुको कारण अस्तव्यस्त वनिरहेको सडकको विषयलाई लिएर पत्रकारहरुले केहीदिन अगाडि जिल्ला ट्राफिक कार्यालयमा समेत सामुहिक ध्यानाकर्षण जनाएका थिए । नगर प्रवक्ता विजय महतोले भने यस्को विषयमा छानविन गर्ने बताउनुभयो । ‘बजार व्यवस्थापन समितीमा छलफल गरेर बुझ्नेछु ।’ प्रवक्ता महतोले भन्नुभयो । ‘मलाई पनि थाहा थिएन यस्लाई गम्भिररुपमा लिएका छौ ।’